काठमाडौं । त्रिशूली नदीको तीव्र कटानका कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङको जवाङखोला खण्ड भासिन थालेको छ।
बुधबार बिहानदेखि नदीले सडकको तल्लो भागमा तीव्र रूपमा कटान गरेपछि राजमार्गको केही हिस्सा दबिन थालेको हो। नदीको बहाव बढ्दै सडकको जगमै असर पर्न थालेपछि उक्त खण्ड उच्च जोखिममा परेको छ।
गत भदौ १० गते आएको बाढीपछि त्रिशूली नदीले जवाङखोला क्षेत्रमा निरन्तर कटान गर्दै आएको थियो। पछिल्लो समय कटान बढेपछि सडकको सतहमा समेत असर देखिन थालेको हो।
सडक भासिन थालेपछि सो क्षेत्र हुँदै आवतजावत गर्ने सवारीसाधन तथा यात्रुको सुरक्षामा जोखिम बढेको छ। सडकको आधारभूत संरचनामै असर परेको देखिएकाले थप क्षति हुन नदिन तत्काल प्राविधिक निरीक्षण र आवश्यक सुरक्षा उपाय अपनाउनुपर्ने अवस्था देखिएको छ।
सम्भावित दुर्घटना रोक्न जोखिमयुक्त स्थानमा सवारीसाधन सञ्चालन गर्दा विशेष सावधानी अपनाउन आवश्यक रहेको छ। नदीको कटान थप बढेमा राजमार्गको यातायात सञ्चालनमै असर पर्न सक्ने सम्भावना रहेको छ।










Discussion about this post