काठमाडौं । भोटेकोशी र त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीले जलविद्युत् आयोजना तथा प्रसारण संरचनामा ठूलो क्षति पुर्याएको छ। बाढीका कारण केही आयोजना पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने संरचना सुरक्षित रहेका आयोजनासमेत प्रसारण लाइनमा क्षति पुग्दा विद्युत् उत्पादन र निकासी बन्द गर्न बाध्य भएका छन्।
बाढीबाट प्रभावित सात जलविद्युत् कम्पनीले धितोपत्र विनियमावली, २०७५ को विनियम २२ बमोजिम नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पत्र पठाउँदै आयोजनामा भएको क्षतिको विवरण सार्वजनिक गरेका छन्।
सबैभन्दा ठूलो क्षति ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ जलविद्युत् आयोजनामा पुगेको छ। त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडले सञ्चालन गरेको उक्त आयोजना बाढीबाट पूर्ण रूपमा क्षतिग्रस्त भएको जानकारी कम्पनीले भदौ १५ गते नेप्सेलाई गराएको हो।
त्यस्तै, ५ मेगावाट क्षमताको मैलुङ खोला जलविद्युत् आयोजना पनि बाढीबाट प्रभावित भएको छ। मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडले भदौ ११ गते नै नेप्सेलाई क्षतिको जानकारी गराएको थियो।
चिलिमे जलविद्युत् कम्पनी लिमिटेडद्वारा सञ्चालित २२.१ मेगावाट क्षमताको जलविद्युत् आयोजनाको विद्युत्गृहमा समेत बाढीले पूर्ण क्षति पुर्याएको कम्पनीले जनाएको छ।
चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा निर्माण भएको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना पनि बाढीबाट पूर्ण रूपमा क्षतिग्रस्त भएको जानकारी नेप्सेलाई दिइएको छ। कम्पनीले भदौ ११ गते यसबारे पत्र पठाएको थियो।
१४.३ मेगावाट क्षमताको माथिल्लो मैलुङ खोला जलविद्युत् आयोजनाको प्रसारण लाइन तथा इन्टरकनेक्सन संरचनामा समेत क्षति पुगेको छ। कम्पनीले भदौ ११ गते नेप्सेलाई यसबारे जानकारी गराएको हो।
यसैगरी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको त्रिशूली–३ बी हबदेखि समुद्रटार सबस्टेसनसम्म जोडिएको १३२ केभी प्रसारण लाइनमा पनि बाढीले क्षति पुर्याएको छ। कम्पनीले भदौ १५ गते नेप्सेलाई क्षतिको विवरण बुझाएको छ।
सान्जेन जलविद्युत् कम्पनी लिमिटेडका अनुसार उसका सान्जेन र माथिल्लो सान्जेन जलविद्युत् केन्द्रका संरचनामा बाढीबाट प्रत्यक्ष क्षति पुगेको छैन। तर, त्रिशूली–३ बी हब र चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनमा क्षति पुगेका कारण उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा पठाउन नसकिएको कम्पनीले जनाएको छ। विद्युत् निकासी हुन नसकेपछि दुवै जलविद्युत् केन्द्र बन्द भएका छन्।
बाढीको प्रभाव आयोजना र विद्युत्गृहमा मात्र सीमित नभई प्रसारण तथा विद्युत् निकासी प्रणालीसम्म पुगेको देखिएको छ। आयोजनाको मुख्य संरचना सुरक्षित रहे पनि प्रसारण लाइनमा क्षति हुँदा विद्युत् उत्पादन बन्द गर्नुपर्ने अवस्था आएको कम्पनीहरूले बताएका छन्।
यता, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले बाढीपछिको उद्धार तथा राहत कार्यमा प्राथमिकता दिइरहेको जनाएको छ। इप्पानले बुधबारदेखि जलविद्युत् क्षेत्रमा भएको क्षतिको विस्तृत विवरण संकलन गर्ने बताएको छ।
सेयर लगानीकर्ता छोटेलाल रौनियारका अनुसार बाढीबाट ऊर्जा क्षेत्रमा ठूलो आर्थिक क्षति भएको छ। उनले यसबाट बैंक, बीमा, पुनर्बीमा तथा जलविद्युत् क्षेत्रसमेत प्रत्यक्ष प्रभावित हुन सक्ने बताएका छन्।
भदौ १० गते भोटेकोशी नदीमा आएको महाविपत्तिका कारण सञ्चालनमा रहेका ८ र निर्माणाधीन ४ गरी १२ वटा विद्युत् आयोजनाका संरचनामा क्षति पुगेको बताइएको छ। आयोजनाका संरचना तथा प्रसारण प्रणालीमा क्षति पुग्दा करिब ४३१ मेगावाट विद्युत् क्षमता नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण ग्रिडबाट विच्छेद भएको छ।
बाढीले अर्बौं रुपैयाँको लगानीमा निर्माण भएका जलविद्युत् आयोजना, प्रसारण लाइन तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुर्याएको छ। विपद्का कारण ऊर्जा क्षेत्रमा कार्यरत इन्जिनियर, प्राविधिक, विज्ञ, विशेषज्ञ तथा कामदारसमेत प्रभावित भएका छन्।
सेबोनले माग्यो क्षतिको विस्तृत विवरण
जलविद्युत् आयोजनामा भएको क्षतिले कम्पनीको आम्दानी, नाफा, नगद प्रवाह तथा ऋण तिर्ने क्षमतामा असर पार्न सक्ने भन्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्रभावित सूचीकृत कम्पनीको वास्तविक अवस्था सार्वजनिक गराउन चासो देखाएको छ।
सेबोनले विपद्बाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित कम्पनीको पहिचान गरी विस्तृत विवरण तयार गर्न निर्देशन दिएको छ। कम्पनीहरूले आयोजनाको नाम र स्थान, विपद्को प्रकृति तथा मिति, भौतिक क्षतिको अवस्था, विद्युत् उत्पादनमा परेको असर तथा प्रसारण र वितरण संरचनाको अवस्थाबारे जानकारी दिनुपर्नेछ।










Discussion about this post