काठमाडौँ । त्रिशूली नदीमा आएको बाढीले सडकको तल्लो भाग कटान गरेपछि काठमाडौं–मुग्लिन सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक अवरुद्ध भएपछि उक्त मार्ग भएर आवतजावत गर्ने यात्रु तथा सवारीसाधन बाटोमै रोकिएका छन्।
धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)का अनुसार भोटेकोशीबाट आएको बाढीका कारण त्रिशूली नदीको बहाव बढेपछि सडकको केही भाग कटान भएको हो। नदीको बहावका कारण सडकको भाग भासिएपछि सवारी आवागमन पूर्ण रूपमा रोकिएको उनले जानकारी दिइन्।
बाढीका कारण आज बिहान केही समय सडक अवरुद्ध भएको थियो। केहीबेरपछि सडक खुलाइए पनि नदीको बहाव पुनः बढेपछि सडकखण्ड पूर्ण रूपमा बन्द गर्नुपरेको प्रशासनले जनाएको छ।
सडक अवरुद्ध भएपछि काठमाडौंबाट मुग्लिनतर्फ तथा मुग्लिनबाट काठमाडौं आउँदै गरेका सवारीसाधन बाटोमै रोकिएका छन्। यात्रुहरू लामो समयदेखि सडक खुल्ने प्रतीक्षामा रहेका छन्।
नदीमा पानीको बहाव निरन्तर बढिरहेको र सडकको केही भागसमेत क्षति भएकाले तत्कालै नियमित यातायात सञ्चालनमा ल्याउन कठिनाइ हुनसक्ने बताइएको छ।
प्रशासन तथा सम्बन्धित निकायले सडकको अवस्थाबारे निरीक्षण गरिरहेको जनाइएको छ। बाढी प्रभावित क्षेत्रमा थप जोखिम हुनसक्ने भएकाले यात्रु तथा चालकलाई सावधानी अपनाउन र सम्भव भएसम्म जोखिमयुक्त क्षेत्रमा अनावश्यक यात्रा नगर्न आग्रह गरिएको छ।










Discussion about this post