कञ्चनपुर । जन्मदिनमा हुने व्यक्तिगत खर्चलाई विपद्मा परेका नागरिकको राहतका लागि समर्पित गर्दै कञ्चनपुरका दुई दाजुभाइले रसुवाको भोटेकोसी बाढीपीडितका लागि आर्थिक सहयोग गरेका छन्। अमेरिकालाई कर्मथलो बनाउँदै आएका सागर कलौनी र उनका दाइ तथा सुदूरपश्चिम खबरका सम्पादक वीरेन्द्र कलौनीले संयुक्त रूपमा ३६ हजार ५ सय ५५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्। भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको हो।
सहयोग रकममध्ये सागर कलौनीले अमेरिकाबाट ३१ हजार र वीरेन्द्र कलौनीले ५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरेका छन्।जन्मदिनलाई व्यक्तिगत उत्सवमा मात्र सीमित नराखी विपद्मा परेका नागरिकको सहयोगमा जोड्ने उद्देश्यले सहयोग गरिएको उनीहरूले बताएका छन्। बाढीबाट ठूलो जनधनको क्षति भइरहेका बेला पीडित परिवारको राहत तथा उद्धारमा आफ्नो सानो सहयोगले पनि योगदान पु¥याओस् भन्ने उद्देश्य रहेको उनीहरूको भनाइ छ।
कलौनी परिवारका दाइ तथा समाजसेवी प्रकाश कलौनीले उक्त सहयोगबारे सुदूरपश्चिम खबरलाई जानकारी दिएका हुन्।विपद्को समयमा पीडित नागरिकको सहयोगका लागि गरिएको यो पहलले सामाजिक उत्तरदायित्व र मानवीय सेवाप्रतिको प्रतिबद्धताको सकारात्मक उदाहरण प्रस्तुत गरेको छ।











Discussion about this post