काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ आसपासका क्षेत्रमा आज दिउँसो वर्षा हुने सम्भावना रहेकाले खोज तथा उद्धार कार्यमा थप चुनौती उत्पन्न हुनसक्ने देखिएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बाढी प्रभावित क्षेत्रमा हाल बदलीको अवस्था रहेको छ। दिउँसोपछि रसुवा, नुवाकोट र धादिङका केही स्थानमा मध्यमदेखि भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।
विभागका मौसमविद् डेविट ढकालका अनुसार दिउँसोको समयमा प्रभावित क्षेत्रमा मौसम प्रतिकूल बन्न सक्ने भए पनि अपराह्न ४ बजेपछि भने मौसम केही सुधार हुने सम्भावना छ।
उनले भने, “बाढी प्रभावित क्षेत्रमा अहिले बादल देखिएको छ। दिउँसोपछि रसुवा, नुवाकोट र धादिङमा मध्यमसम्मको वर्षा हुने सम्भावना छ भने एक–दुई स्थानमा भारी वर्षा हुनसक्छ। अपराह्न ४ बजेपछि भने खोज तथा उद्धारका लागि मौसम केही अनुकूल हुने सम्भावना छ।”
विभागले आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका साथै कर्णाली प्रदेशको पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहेको जनाएको छ। यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा समेत भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।
देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको समेत सम्भावना रहेको विभागले जनाएको छ।
यसैबीच, विज्ञहरूले भोटेकोशी र त्रिशूली नदी आसपासमा बाढीको जोखिम अझै कायम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन्। माथिल्लो क्षेत्रमा बनेका हिमताल फुट्ने सम्भावना तथा थप वर्षाका कारण नदीको बहाव बढ्नसक्ने भएकाले राहत तथा उद्धार कार्यमा थप कठिनाइ आउन सक्ने उनीहरूको भनाइ छ।
विषम मौसमको अवस्थालाई ध्यानमा राख्दै नदी तटीय क्षेत्रका बासिन्दा, उद्धारमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक तथा अन्य जनशक्तिलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न समेत अनुरोध गरिएको छ।










Discussion about this post