काठमाडौँ । पछिल्लो २४ घण्टामा कञ्चनपुरसहित देशका विभिन्न क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कञ्चनपुरमा सबैभन्दा धेरै १४१ मिलिमिटर वर्षा मापन भएको छ।
विभागका अनुसार धादिङ–गोरखा सीमा क्षेत्रमा पर्ने आरुघाटमा १२४.४ मिलिमिटर, सिन्धुपाल्चोकमा १२३.२ मिलिमिटर र अर्घाखाँचीमा ११५.२ मिलिमिटर वर्षा भएको छ। यी सबै स्थानमा पछिल्लो २४ घण्टामा धेरै भारी वर्षा भएको विभागले जनाएको छ।
मौसम विज्ञानमा २४ घण्टाको अवधिमा १०० देखि २०० मिलिमिटरसम्मको वर्षालाई धेरै भारी वर्षा मानिन्छ। त्यस्तै ५० देखि १०० मिलिमिटरसम्म भारी र २०० मिलिमिटरभन्दा बढी वर्षालाई अति भारी वर्षाका रूपमा वर्गीकरण गरिन्छ।
सिन्धुपाल्चोकमा केही दिनयता लगातार मध्यमदेखि धेरै भारी वर्षा हुँदै आएको विभागले जनाएको छ। यद्यपि शनिबार रातिदेखि आइतबार बिहानसम्म कतिपय क्षेत्रमा वर्षाको मात्रा केही घटेको देखिएको छ।
पछिल्लो २४ घण्टामा लुम्बिनी प्रदेशका केही जिल्ला तथा गण्डकी, बागमती र कोशी प्रदेशका विभिन्न स्थानमा समेत भारी वर्षा भएको विभागको तथ्यांकमा उल्लेख छ। अन्य क्षेत्रमा भने सामान्यदेखि मध्यम वर्षा भएको जनाइएको छ।
लगातारको भारी वर्षाका कारण कञ्चनपुर र अर्घाखाँचीका नदी तथा खोलामा पानीको बहाव बढेर बाढीको जोखिम थपिएको विभागले जनाएको छ। विशेषगरी नदी तथा खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
विभागले नदी तथा खोलामा पानीको सतह अचानक बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन, जोखिमयुक्त स्थानमा नजान तथा स्थानीय प्रशासन र सम्बन्धित निकायले जारी गर्ने सूचना तथा चेतावनीलाई पालना गर्न अनुरोध गरेको छ।










Discussion about this post