नुवाकोट । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत निरीक्षण गर्दै उद्धार, राहत, उपचार तथा पुनर्स्थापनाको अवस्थाबारे जानकारी लिएका छन्।
शनिबार बिहान नुवाकोटको सदरमुकाम विदुर पुगेका अर्थमन्त्री वाग्लेले नेपाली सेनाको नेतृत्वमा सञ्चालित राहत तथा उद्धार कमाण्ड पोस्टको निरीक्षण गरे। त्यहाँ उनले बाढी प्रभावित क्षेत्रमा भइरहेको उद्धार तथा राहत वितरणबारे नेपाली सेनाका अधिकारीसँग जानकारी लिए।
उद्धार कार्यको नेतृत्व गरिरहेका नेपाली सेनाका उपरथी रञ्जित थापाले बाढीमा बेपत्ता भएकाहरूको खोज तथा उद्धारलाई प्राथमिकतामा राखेर काम भइरहेको जानकारी गराए। विशेषगरी विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेका नागरिकको उद्धारलाई उच्च प्राथमिकता दिइएको उनले बताए।
अर्थमन्त्री वाग्लेले उद्धार, उपचार र पुनर्स्थापनाका लागि सरकारबाट आवश्यक स्रोतसाधनको अभाव हुन नदिने प्रतिबद्धता जनाउँदै सुरक्षाकर्मीलाई आवश्यक सहयोग तत्काल माग्न आग्रह गरे। उनले प्रभावित नागरिकलाई अस्थायी बसोबास, खाद्यान्न तथा अन्य आवश्यक राहत उपलब्ध गराउने कार्यलाई समेत प्रभावकारी बनाउन निर्देशन दिए।
यस क्रममा उनले तत्काल आवश्यक देखिएका स्थानमा बेलिब्रिज निर्माण लगायतका पूर्वाधार पुनःस्थापनाका कामलाई अघि बढाउनुपर्नेमा जोड दिए।
वाग्लेले नेपाली सेनाको गौथली ब्यारेकमा रहेको हवाई उद्धार केन्द्र तथा राहत सामग्री संकलन र वितरण केन्द्रको समेत निरीक्षण गरे। त्यहाँ उनले आफन्त बेपत्ता भएपछि उद्धारको प्रतीक्षामा रहेका परिवारजनसँग भेट गरी उनीहरूका समस्या र माग सुने।
नुवाकोट तथा रसुवाका विभिन्न जलविद्युत् आयोजनामा परिवारका सदस्य फसेको भन्दै आफन्तहरूले तत्काल खोज तथा उद्धारका लागि सरकारको ध्यानाकर्षण गराएका थिए। जवाफमा अर्थमन्त्री वाग्लेले सुरुङमा फसेका नागरिकको उद्धार उच्च प्राथमिकतामा रहेको भन्दै उद्धार टोलीले सक्दो प्रयास गरिरहेको जानकारी दिए।
त्यसपछि अर्थमन्त्री वाग्लेले बाढीबाट ठूलो क्षति पुगेको ढुङ्गे बजार र ऐतिहासिक देवीघाट बजारको स्थलगत निरीक्षण गरे। उनले बाढीले पुर्याएको क्षतिको अवस्था अवलोकन गर्नुका साथै प्रभावित स्थानीय तथा पीडित परिवारसँग भेटेर उनीहरूको अवस्था र आवश्यकताबारे जानकारी लिए।
देवीघाट क्षेत्रमा उनले बाढीबाट क्षतिग्रस्त देवीघाट–जिलिङ जोड्ने पक्की पुलको समेत निरीक्षण गरे। गल्छी–रसुवागढी सडकखण्डअन्तर्गत पर्ने उक्त क्षेत्रमा भएको क्षतिबारे सम्बन्धित अधिकारीसँग जानकारी लिँदै सडक तथा यातायात पूर्वाधार पुनःस्थापनालाई प्राथमिकतामा राख्नुपर्ने बताए।
अर्थमन्त्री वाग्लेले तल्लो पिपलटारस्थित आयुर्वेदिक केन्द्र र चन्द्रज्योति स्कुलमा सञ्चालित होल्डिङ सेन्टर पुगेर उद्धार गरिएका प्रभावित नागरिकसँग भेट गरे। बाढीबाट उद्धार गरिएका नागरिकको स्वास्थ्य अवस्था, बसोबास तथा आवश्यक राहतबारे उनले जानकारी लिए।
उपचार तथा स्वास्थ्य सेवामा खटिएको सशस्त्र प्रहरीको चिकित्सक टोलीसँग पनि उनले भेट गरी आवश्यक औषधि, उपकरण तथा अन्य स्रोतसाधनको अवस्थाबारे जानकारी लिए। प्रभावित नागरिकलाई उपचार तथा पुनर्स्थापनामा सरकारले आवश्यक सहयोग गर्ने उनले बताए।
यसैबीच, अर्थमन्त्री वाग्ले र सञ्चारमन्त्री डा. बिक्रम तिमल्सिनाले नुवाकोटका जनप्रतिनिधि तथा राजनीतिक दलका स्थानीय नेतृत्वसँग विपद्पछिको उद्धार, राहत, उपचार र पुनर्स्थापनाका विषयमा छलफल गरेका छन्।
जिल्ला समन्वय समितिको हलमा भएको छलफलमा अर्थमन्त्री वाग्लेले विपद्को समयमा केन्द्र सरकारबाट स्रोतसाधनको अभाव हुन नदिने स्पष्ट पारे। उनले राजनीतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय तथा स्थानीय प्रशासनबीच प्रभावकारी समन्वय गरेर प्रभावित नागरिकलाई तत्काल आवश्यक सेवा उपलब्ध गराउन आग्रह गरे।
दिनभर भएका उद्धार तथा राहत कार्यको समीक्षा गर्न अर्थमन्त्री वाग्ले नेपाली सेनाको विदुर कमाण्ड सेन्टरसमेत पुगे। त्यहाँ उनले सुरक्षा निकायका उच्च अधिकारीबाट विपद्पछिको उद्धार तथा राहत कार्यको पछिल्लो अवस्थाबारे जानकारी लिए।
ब्रिफिङका क्रममा जलविद्युत् आयोजनाका सुरुङमा फसेका नागरिकको उद्धारलाई प्राथमिकतामा राखिएको तथा नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितका टोलीले बेपत्ताको खोजी, शव संकलन तथा राहत वितरणलाई तीव्रता दिएको जानकारी गराइएको थियो।
अर्थमन्त्री वाग्लेको स्थलगत निरीक्षणका क्रममा प्रभावित क्षेत्रको तत्कालीन आवश्यकता पहिचान, उद्धार कार्यको समन्वय तथा आगामी पुनर्स्थापनाका लागि आवश्यक कदम चाल्ने विषयमा समेत छलफल भएको थियो।










Discussion about this post