काठमाडौं । होटल संघ नेपाल (हान) बागमती प्रदेशले प्रदेशका १३ वटै जिल्लामा पर्यटन प्रवद्र्धन अभियान सञ्चालन गर्ने भएको छ।
संघको बुधबार बसेको पहिलो बैठकले चालु आर्थिक वर्षभित्र होटल तथा पर्यटन मेला आयोजना गर्ने, नयाँ पर्यटकीय गन्तव्य पहिचान तथा प्रचार–प्रसार गर्ने र स्थानीय गन्तव्यको बजारीकरणलाई प्राथमिकता दिने निर्णय गरेको हो।
पर्यटकीय सम्भावना भएका क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा चिनाउन स्थानीय तह, सरकारी तथा गैरसरकारी निकाय र पर्यटन क्षेत्रका संघ–संस्थासँग सहकार्य गरी मेला आयोजना गरिने संघले जनाएको छ।
बैठकले बागमती प्रदेशका १३ वटै जिल्लामा भदौभित्र जिल्ला समिति गठन गर्ने निर्णयसमेत गरेको छ। प्रत्येक जिल्लामा ‘पर्यटन संवाद’ कार्यक्रम सञ्चालन गरी स्थानीय सरकार, पर्यटन व्यवसायी र सरोकारवालाबीच छलफल गरिनेछ।
होटल व्यवसायमा नयाँ लगानी र पूर्वाधार विस्तारलाई सहज बनाउन २५ कोठासम्मका होटल तथा आवासीय प्रतिष्ठानका लागि प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) अनिवार्य नहुने गरी नीतिगत व्यवस्था गर्न सरकारसँग आग्रह गर्ने निर्णय पनि संघले गरेको छ।
संघले होटल व्यवसायलाई उद्योगसरह मान्यता दिई उद्योगले पाउने सुविधा उपलब्ध गराउनुपर्ने मागलाई समेत प्राथमिकतामा राखेको छ।
हान बागमती प्रदेशका अध्यक्ष रामसुन्दर बकेले प्रदेशमा पर्यटनको ठूलो सम्भावना भए पनि व्यवस्थित प्रचार र बजारीकरणको अभाव रहेको भन्दै अब संस्थागत रूपमा गन्तव्य पहिचानदेखि प्रवद्र्धन र बजारीकरणसम्मको काम अघि बढाइने बताउनुभयो।
संघले पर्यटन पूर्वाधार विकास, नीतिगत सुधार र व्यवसायीको हकहितसँगै पर्यटनलाई रोजगारी तथा स्थानीय अर्थतन्त्रसँग जोड्ने लक्ष्य लिएको जनाएको छ।










Discussion about this post