कञ्चनपुर । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) को २७ औँ वार्षीक साधारण सभा तथा सातौँ महाधिवेशन सम्पन्न भएको छ। आईतबार संस्थाको सभा हलमा उद्घाटन सत्र र महाधिवेशन सत्र गरि दुई सत्रमा कार्यक्रम सम्पन्न भएको हो। संस्थाका अध्यक्ष माया देवी सार्कीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख दुर्गा दत्त बोहरा रहनुभएको थियो भने, विशिष्ठ अतिथिका रूपमा अधिवत्ता उमेश बिस्ट उपस्थित रहनुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक अशोक बिक्रम जैरूले एनएनएसडब्ल्यूएले विगत ३७ वर्षदेखि ‘थ्री डी’ अर्थात दलित, अपाङ्गता भएका व्यक्ति र पछाडि पारिएका समुदायका साथै आरक्षणपीडित, मुक्तकमलरी, महिला, बालबालिका, एचआईभी तथा कोरोना सङ्क्रमित र कुष्ठरोग प्रभावित व्यक्तिहरूको अधिकार र हितका लागि निरन्तर विकासमुखी कार्यहरू गर्दै आएको बताउनुभयो। सभ्य र समतामूलक समाज निर्माणका लागि संस्थागत प्रयास आवश्यक रहेको उल्लेख गर्दै उहाँले हाल संस्थाले यस्ता लक्षित वर्गको उत्थानका क्षेत्रमा अग्रपंक्तिमा रहेर समाज रूपान्तरणको नेतृत्वदायी भूमिका खेलिरहेको स्पष्ट पार्नुभयो। संस्थाले सञ्चालन गरेका विविध कार्यक्रम र पहलकदमीहरूका कारण हाल समुदायस्तरमा सकारात्मक परिवर्तनहरू देखिरहेको जानकारी गराउँदै उहाँले आगामी दिनमा पनि थप जिम्मेवार भई नतिजामुखी काम गर्नुपर्नेमा विशेष जोड दिनुभयो।

त्यसैगरी, कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि दुर्गा दत्त बोहराले नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) ले यस क्षेत्रको सर्वाङ्गीण विकासमा महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उहाँले राज्यको पहुँच पुग्न नसकेका दूरदराजका क्षेत्रहरूमा समेत संस्थाले प्रभावकारी सेवा प्रदान गरिरहेको उल्लेख गर्नुभयो। संस्थाले आफ्नो कार्यशैलीमा पूर्ण पारदर्शिता कायम गर्दै समाजलाई अन्धकारबाट उज्यालोतर्फ डोऱ्याउन खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै उहाँले आगामी दिनहरूमा पनि संस्था आफ्नो लक्ष्य प्राप्तिमा निरन्तर सफल रहोस् भनी शुभकामना व्यक्त गर्नुभयो।

कार्यक्रममा संस्थाका महासचिव रूपा कौशल परियारले संस्थाको वार्षीक प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो। त्यसैगरी कोषाध्यक्ष कबिता भट्टले आर्थिक वर्ष २०८२/८३ को आय-व्यय सहितको वार्षिक बजेट विवरण प्रतिवेदन पेश गर्नुभएको थियो। कोषाध्यक्ष भट्टले एनएनएसडब्ल्यूएको आन्तरिक स्रोत र आउने सम्भावित परियोजनाहरू गरी चालु आर्थिक वर्ष २०८३/८४ लागि अनुमानित बजेट प्रस्तुत गर्नुभएको थियो। संस्थाका सचिव सुरेश पाल्पालीले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष माया देवी सार्की र संस्थाका कर्मचारी विशन देव जोशी र अनिता लावडले स्वागत मन्तव्य राख्नु भएको थियो।

सातौँ महाधिवेशनबाट माया देवी सार्कीको अध्यक्षतामा सर्वसम्मतीमा ९ सदस्सीय कार्य समिति चयन भएको छ। नयाँ कार्य समितिको उपाध्यक्षमा रतन दमाई, महासचिवमा रूपा कौशल परियार, सचिवमा सुरेश पाल्पाली, कोषाध्यक्षमा कबिता भट्ट र सहकोषाध्यक्षमा बबिता सुनार चयन हुनुभएको छ। त्यसैगरी सदस्यहरूमा क्रमसः मिनु नेपाली, रेश्मा राना, र सुन्दर नेपाली चयन हुनुभएको छ।

कार्यक्रममा कार्य समिति पदाधिकारी तथा सदस्यहरू, साधारण सदस्यहरू, संस्थाका कर्मचारीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू साथै समाजसेवी तथा बुद्धिजीहरूको उपस्थिति रहेको थियो।










Discussion about this post