कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ११ ले वडाका बालबालिकाहरूका लागि निःशुल्क बेसिक कम्प्युटर कोर्स प्रदान गरेको छ। बालबालिकालाई डिजिटल साक्षर बनाउने र उनीहरूको क्षमता विकास गर्ने उद्देश्यका साथ वडा कार्यालयले देवल इन्स्टिच्युट अफ टेक्नोलोजीसँगको प्राविधिक सहकार्यमा उक्त तालिम सञ्चालन गरेको हो।
तालिममा वडाभित्रका झण्डै ४५ भन्दा बढी बालबालिकाहरूको सक्रिय सहभागिता रहेको वडा कार्यालयले जनाएको छ।
भीमदत्त नगरपालिकाका नगर उप-प्रमुख निलम लेखक जोशीले बालबालिकाहरूलाई सानै उमेरदेखि प्रविधिसँग जोड्न वडा कार्यालयले खेलेको भूमिकाको उच्च प्रशंसा गर्नुभयो। उहाँले भीमदत्त नगरपालिकालाई प्रविधिमैत्री र समृद्ध बनाउन यस्ता जगैदेखिका प्रयासहरू महत्वपूर्ण हुने उल्लेख गर्दै नगरका तर्फबाट आगामी दिनमा पनि युवा तथा बालबालिकाको सीप र क्षमता विकासका कार्यक्रमहरूलाई थप बजेट र योजनासहित प्राथमिकतामा राखिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
वडा अध्यक्ष प्रकाश अहिलेको डिजिटल युगमा कम्प्युटर र प्रविधिको आधारभूत ज्ञान हरेक बालबालिकाका लागि अनिवार्य भइसकेको बताउँदै वडाका कुनै पनि बालबालिका आर्थिक अभावकै कारण प्रविधि सिक्नबाट बञ्चित हुन नपरोस् भनेर यो कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो।
उहाँले आगामी दिनमा पनि वडाका विद्यार्थीहरूको शैक्षिक गुणस्तर सुधार, सीप विकास र वृत्तिविकासका लागि यस्ता कार्यक्रमहरूलाई थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
भीमदत्त नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष प्रकाश थापा निर्वाचित भएर आएदेखि नै वडामा विद्यार्थी र युवा लक्षित कार्यक्रमहरूले विशेष प्राथमिकता पाउँदै आएका छन्। वडा कार्यालयले हरेक वर्ष बालबालिकाहरूका लागि निःशुल्क कम्प्युटर कोर्स, विभिन्न तहका परीक्षाका लागि तयारी कक्षा सञ्चालन तथा शैक्षिक सुधारका गतिविधिहरूलाई निरन्तरता दिँदै आएको छ।










Discussion about this post