– जगन्नाथ आत्रेय, महेन्द्रनगर
कञ्चनपुर । गुगुल्डी वाङ्मय प्रतिष्ठानद्वारा प्रकाशित ‘गुगुल्डी’ साहित्यिक मासिक पत्रिकाको २९औँ वार्षिकोत्सव महेन्द्रनगरमा भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा सहयोग, सद्भाव तथा शुभकामना व्यक्त गर्नुहुने सम्पूर्ण महानुभावहरूप्रति प्रतिष्ठानले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।
सो अवसरमा गुगुल्डी वाङ्मय प्रतिष्ठानले साहित्यका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका आठ जना स्रष्टालाई विभिन्न पुरस्कार प्रदान गरेको छ। पुरस्कृत हुनेहरूमा साहित्यिक पत्रकार सङ्घका महासचिव चेतनाथ धमला, कुमाउनी साहित्यकार महेन्द्र ठकुराठी, प्रलेस कञ्चनपुरका अध्यक्ष प्रजापति नेगी, ज्येष्ठ नागरिक तथा अग्रज साहित्यकार दिनानाथ बराल, गङ्गाप्रसाद रिजाल, हिरा जोशी भट्ट, युवा साहित्यकार राजेन्द्र ओड तथा चाँदनी भट्ट रहेका छन्।
पुरस्कार प्राप्त गर्नेहरूको विवरण यसप्रकार छ –
१. द्रोपती–विश्राम गुगुल्डी वाङ्मय पुरस्कार, २०८२ (संस्थापक: वीरबहादुर चन्द ‘विश्राम’) – चेतनाथ धमला (खोटाङ/काठमाडौं), कौशिकीका सम्पादक, साहित्यिक पत्रकार सङ्घका महासचिव तथा पूर्व प्राज्ञ।
२. ग्वाल्लेक गौरव (लच्छुडुणी चन्द स्मृति) पुरस्कार, २०८२ (संस्थापक: वीरबहादुर चन्द ‘विश्राम’) – राजेन्द्र ओड (मेलौली–२, बैतडी)।
३. मनोहरी–वसन्ती–गजाधर स्मृति पुरस्कार, २०८२ (संस्थापक: नारायणदत्त भट्ट) – प्रजापति नेगी (भीमदत्त नगरपालिका–१५, गोवरैय्या, महेन्द्रनगर)।
४. कौशल्या कुदेवी–कर्णबहादुर स्मृति पुरस्कार, २०८२ (संस्थापक: कोमलबहादुर सिंह) – दिनानाथ बराल (पुनर्वास)।
५. डम्मरदत्त शर्मा स्मृति पुरस्कार, २०८२ (संस्थापक: कविता शर्मा भट्ट) – गङ्गाप्रसाद रिजाल (बेलौरी, कञ्चनपुर)।
६. दिलानन्द–देवकी डोटी रत्न पुरस्कार, २०८२ (संस्थापक: दिलानन्द पन्त) – महेन्द्र ठकुराठी (अल्मोडा, भारत), कुमाउनी साहित्यिक पत्रिका पहरूका सम्पादक।
७. माल महिमराम–रत्ना पुरस्कार, २०८२ (संस्थापक: लक्ष्मीदत्त भट्ट) – चाँदनी भट्ट (दार्चुला)।
८. गुगुल्डी नवाँकी मानमान (पुरस्कार), २०८२ – हिरा जोशी भट्ट।
कार्यक्रम गुगुल्डी वाङ्मय प्रतिष्ठानका अध्यक्ष वीरबहादुर चन्द ‘विश्राम’ को अध्यक्षता तथा वरिष्ठ साहित्यकार कृष्णदत्त चटौत कान्तको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रमको संयोजन रमेश पन्त मीतबन्धुले गर्नुभएको थियो भने सञ्चालन प्रतिष्ठानका सचिव जगदीश ओझाले गर्नुभएको थियो। स्वागत तथा व्यवस्थापनको जिम्मेवारी कोषाध्यक्ष खिमानन्द वडूले निर्वाह गर्नुभएको थियो।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा पूर्व संविधानसभा सदस्य आनन्दी पन्त, सुदूरपश्चिम विश्वविद्यालयका पूर्व डीन डा. टेकराज पन्त, प्रजापति नेगी, गङ्गाप्रसाद रिजाल तथा महेन्द्र ठकुराठीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
सम्मान कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयका पूर्व डीन डा. मुकुन्द कलौनी, वरिष्ठ साहित्यकार पञ्चमराज भट्ट, नारा जोशी तथा गङ्गा नेगी लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको दोस्रो सत्रमा नारा जोशी, महादेव ओझा, राजेन्द्र ओड, लक्ष्मण अधिकारी, केशवदत्त भट्ट, जयराज पन्त, हिरा जोशी भट्ट, बबिता कार्की, चिनाराम नेपाली, दीपिका भट्ट लगायत १८ जना स्रष्टाले आफ्ना रचना वाचन गर्नुभएको थियो। साथै जयराज पन्त र चिनाराम नेपालीले स्वागत तथा शुभकामना गीत प्रस्तुत गर्नुभएको थियो।
यसै अवसरमा वीरबहादुर चन्द ‘विश्राम’ को नयाँ काव्यकृति ‘लोली गोरा’ को विमोचन गरिएको थियो। साथै युवा साहित्यकार अनार भट्टको उपन्यास ‘खाम’ को लोकार्पण गरी लेखकले कृतिबारे आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो।
प्रमुख अतिथि कृष्णदत्त चटौत कान्तले स्थानीय भाषा र साहित्यको संरक्षण तथा विकास नगरी राष्ट्रिय साहित्यको समग्र विकास सम्भव नहुने उल्लेख गर्दै युवापुस्तालाई यस क्षेत्रमा आकर्षित गर्न गुगुल्डीले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो।
शुभकामना मन्तव्यका क्रममा डा. टेकराज पन्तले निःस्वार्थ भावनाका साथ साहित्यिक अभियान सञ्चालन गरिएकै कारण गुगुल्डीले २९ वर्षसम्म आफ्नो निरन्तरता कायम राख्न सफल भएको बताउनुभयो।
कार्यक्रमको प्रारम्भमा प्रतिष्ठानका सचिव जगदीश ओझाले गुगुल्डीका कार्यक्रम, नीति, चुनौती तथा भावी योजनाबारे जानकारी गराउँदै हालसम्म अक्षयकोषमा दाताहरूले उपलब्ध गराएको रकमको ब्याजबाट पुरस्कार वितरण गरिँदै आएको उल्लेख गर्नुभयो। साथै अक्षयकोष विस्तारका लागि सबैको सहयोग आवश्यक रहेको आग्रह गर्नुभयो।
कार्यक्रमको समापन गर्दै अध्यक्ष वीरबहादुर चन्द ‘विश्राम’ ले लेखक, साहित्यकार, पाठक तथा सम्पूर्ण सहयोगीप्रति हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो।










Discussion about this post