चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपालको आर्थिक वृद्धिदर ३ दशमलव ५१ प्रतिशत पुगेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार यो वृद्धिदर दोस्रो त्रैमासको तुलनामा ० दशमलव ५८ प्रतिशतले बढी हो।
कार्यालयका अनुसार विद्युत् उत्पादन तथा वितरण, निक्षेप सङ्कलन, ऋण प्रवाह, बीमा प्रिमियम सङ्कलन तथा व्यापार सेवामा भएको विस्तारले तेस्रो त्रैमासको आर्थिक वृद्धिमा उल्लेख्य योगदान पुर्याएको छ।
यद्यपि, निर्माण सामग्रीको आयातमा कमी, धान उत्पादनमा गिरावट तथा घरेलु उत्पादन कमजोर रहँदा समग्र आर्थिक वृद्धिदर अपेक्षाअनुसार उच्च हुन नसकेको कार्यालयले जनाएको छ।
१८ औद्योगिक वर्गीकरणमध्ये १६ वटा क्षेत्रमा सकारात्मक वृद्धि देखिएको छ। विद्युत् तथा पेट्रोलियम क्षेत्रले सबैभन्दा उच्च २४ दशमलव ५ प्रतिशतको वृद्धि हासिल गरेको छ भने वित्तीय तथा बीमा, यातायात र थोक व्यापार क्षेत्रमा पनि उल्लेखनीय विस्तार भएको छ।
कृषि क्षेत्रको समग्र वृद्धिदर १ दशमलव ५८ प्रतिशत रहे पनि कृषि, वन तथा मत्स्य उपक्षेत्र ० दशमलव ०४ प्रतिशतले खुम्चिएको तथ्याङ्कले देखाएको छ।
राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार तेस्रो त्रैमाससम्म नेपालको अर्थतन्त्रको आकार ६४ खर्ब २७ अर्ब रुपैयाँबाट बढेर ६४ खर्ब ६५ अर्ब रुपैयाँ पुगेको छ।










Discussion about this post