आज, भोलि र पर्सि देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले नदी तथा खोलामा बाढीको जोखिम बढेको भन्दै बाढी पूर्वानुमान महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाका अनुसार आज रुकुम पश्चिम, सल्यान, जाजरकोट, दैलेख, सुर्खेत, बाँके, बर्दिया, अछाम, डोटी, बैतडी, डडेलधुरा, कैलाली, कञ्चनपुर लगायत आसपासका क्षेत्रमा आकस्मिक बाढीको जोखिम रहेको छ।
यस्तै भोलि र पर्सि कोशी, बागमती, गण्डकी र मधेश प्रदेश हुँदै बग्ने नदीहरूको बहाव अचानक बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। देशका अन्य भागमा पनि मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ।
त्यसैगरी मधेश प्रदेश तथा कोशी र बागमती प्रदेशका तराई क्षेत्रमा हावाहुरीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
महाशाखाका अनुसार आज राति कोशी र गण्डकी प्रदेशका पहाडी तथा तराईका केही स्थानमा समेत भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ।










Discussion about this post