कञ्चनपुर । एम्नेस्टी इन्टरनेशनल नेपाल समूह ४९, कञ्चनपुरको १४ औं वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न भएको छ। शनिबार महेन्द्रनगरमा आयोजित एक विशेष समारोहका बीच उक्त साधारण सभा सम्पन्न गरिएको हो।

समूह ४९ कञ्चनपुरका संयोजक विशाल सोनारको सभाध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री माननीय मधु भारती प्रमुख अतिथि रहनुभएको थियो।

प्रमुख अतिथि राज्यमन्त्री भारतीले मानव अधिकारको रक्षा, सामाजिक न्याय र समानताका लागि एम्नेस्टी इन्टरनेशनलले विश्वव्यापी रूपमा खेल्दै आएको भूमिकाको प्रशंसा गर्नुभयो। उहाँले प्रदेश सरकार नागरिकका मौलिक हक अधिकारको ग्यारेन्टी गर्न र मानव अधिकार मैत्री वातावरण निर्माण गर्न सदैव प्रतिबद्ध रहेको बताउनुभयो।

कार्यक्रममा सभाध्यक्ष एवम् समूह ४९ का संयोजक विशाल सोनारले स्थानीय स्तरमा मानव अधिकार उल्लङ्घनका घटनाहरू न्यूनीकरण गर्न र नागरिकलाई आफ्ना अधिकारप्रति सचेत गराउन संस्था निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले आवाजविहीनहरूको आवाज बनेर न्याय र समानताका पक्षमा वकालत गर्न आगामी दिनमा एम्नेस्टीको अभियानलाई कञ्चनपुरका ग्रामीण बस्तीहरूसम्म थप सशक्त ढङ्गले विस्तार गरिने बताउनुभयो।

साधारणमा समूहका सचिव राजेन्द्र चन्दले संस्थाको वार्षिक प्रगति तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रतिवेदन प्रस्तुत गर्नुहुँदै सचिव चन्दले विगतका वर्षहरूमा मानव अधिकार सचेतना, सामाजिक न्याय र समुदाय स्तरमा गरिएका विभिन्न रचनात्मक अभियानहरूबारे जानकारी गराउनुभएको थियो।

कार्यक्रममा मानव अधिकारकर्मी, नागरिक समाजका प्रतिनिधि, सञ्चारकर्मी तथा विभिन्न सरोकारवाला निकायका प्रमुख एवम् प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।










Discussion about this post