चिनियाँ प्राविधिक टोलीले परीक्षण सम्पन्न गरेपछि रसुवागढी नाकास्थित मितेरी पुलबाट चार दिनपछि पुनः सवारी सञ्चालन भएको छ।
गत वर्ष असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले सिमेन्टको मेसिनरी पुल बगाएपछि आवतजावतका लागि अस्थायी बेलीब्रिज निर्माण गरिएको थियो। वर्षायाममा पुलको अवस्था परीक्षण गर्न चिनियाँ पक्षले केही दिन गाडी सञ्चालन रोकेको थियो।
पुलको सफल परीक्षणपछि बिहीबारदेखि मालवाहक सवारी आवागमन पुनः सञ्चालन भएको इलाका प्रहरी कार्यालय टिमुरेले जनाएको छ। परीक्षणसँगै पुलका नट पुनः कस्ने कार्यसमेत सम्पन्न गरिएको छ।
जिल्ला प्रहरी प्रमुख अशोक थापाका अनुसार २२ वटा कन्टेनरसहितका सवारीसाधन सामान आयातका लागि केरुङतर्फ प्रस्थान गरेका छन्। यस्तै चीनबाट स्याउ, सुन्तला, अङ्गुर र ड्रागनफ्रुट बोकेका ३३ वटा सवारी नेपाल भित्रिएका छन्।
पुलको भार क्षमता र सुरक्षालाई ध्यानमा राख्दै १४ फिटभन्दा बढी उचाइ भएका मालवाहक सवारी सञ्चालन गर्न नपाइने चिनियाँ प्राविधिकले जानकारी दिएका छन्। सोहीअनुसार नेपाल र चीन दुवैतर्फ १४ फिट उचाइको मापदण्ड जनाउने डण्डी जडान गरिएको छ।










Discussion about this post