अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ।
अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा शपथ गराउँदै अर्थमन्त्री वाग्लेले लगानीकर्ताको लगानीको सुरक्षा, बजारमा पारदर्शिता र पूँजी परिचालनमार्फत आर्थिक वृद्धि हासिल गर्न विशेष ध्यान दिन निर्देशन दिनुभयो। उहाँले कुनै पनि प्रकारको लोभ वा प्रभावमा नपरी इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्न आग्रह गर्नुभयो।
अर्थमन्त्री वाग्लेले पूँजीबजार सुधारका लागि दैनिक, साप्ताहिक, मासिक, छमहिने र वार्षिक कार्ययोजना तयार गरी कार्यान्वयन गर्न तथा बजारमा फैलिने अनावश्यक हल्ला र भ्रम चिर्दै साना लगानीकर्तामा विश्वास कायम गर्न पनि निर्देशन दिनुभयो। मन्त्रालयबाट हस्तक्षेप नहुने उल्लेख गर्दै उहाँले नतिजामुखी काम गर्न आग्रह गर्नुभयो।
यही असार ५ गतेको मन्त्रिपरिषद् बैठकले डा. भट्टलाई सेबोनको अध्यक्षमा नियुक्त गरेको थियो।
शपथपछि नवनियुक्त अध्यक्ष भट्टले सरकारको नीति र अर्थमन्त्रीको निर्देशनअनुसार पूँजीबजारको विकास, लगानीकर्ताको हित संरक्षण र आर्थिक वृद्धिमा योगदान पुग्ने गरी इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, पूँजीबजार सुधारसम्बन्धी अध्ययन तथा सिफारिसहरू कार्यान्वयन गर्दै बजारलाई थप व्यवस्थित र विश्वासिलो बनाउने उहाँको भनाइ छ।










Discussion about this post