ललितपुर । वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती रहेको भन्दै सरोकारवालाहरूले सरकारको प्रभावकारी तदारुकताको आवश्यकता औँल्याएका छन् ।
नेपाल वन प्राविधिक सङ्घ बागमती प्रदेशको आयोजनामा सम्पन्न वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनसम्बन्धी गोष्ठीमा सहभागीहरूले वन संरक्षण, जैविक विविधता, मानव–वन्यजन्तु द्वन्द्व तथा जलाधार व्यवस्थापनका क्षेत्रमा चुनौती बढ्दै गएको बताएका हुन् ।
कार्यक्रममा बोल्दै बागमती प्रदेशका वन तथा वातावरण मन्त्री भरत बहादुर के.सी ले वन संरक्षण, जैविक विविधताको संरक्षण, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, वातावरणीय सन्तुलन कायम राख्ने उपाय तथा जलाधार व्यवस्थापनमा पर्याप्त ध्यान नदिए नेपालको जैविक विविधता नै सङ्कटमा पर्न सक्ने बताउनुभयो । उहाँले वन क्षेत्रसँग सम्बन्धित नीति, योजना तथा कार्यान्वयनका चुनौती र सम्भावनाबारे सरोकारवालाबीच गहन छलफल आवश्यक रहेको उल्लेख गर्नुभयो ।
गोष्ठीमा वन नीति तथा प्रशासनको आगामी दिशा, प्रदेशमा जलाधार व्यवस्थापन, मानव–वन्यजन्तु द्वन्द्व तथा बाँदर व्यवस्थापन र दिगो वन व्यवस्थापनसम्बन्धी अन्तरप्रदेशीय सिकाइ अनुभवका विषयमा छुट्टाछुट्टै प्यानल छलफल सञ्चालन गरिएको थियो ।
वन नीति तथा प्रशासनको आगामी दिशा विषयक छलफलमा पूर्वसचिव डा. विश्वनाथ ओलीको सभापतित्वमा वन तथा वातावरण मन्त्रालयका सहसचिव नवराज पुडासैनीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । त्यसपछि कोशी प्रदेशका सचिव डा. इन्द्रप्रसाद सापकोटा, वन तथा वातावरण विज्ञ डा. सिन्धु प्रसाद ढुङ्गाना, नेपाल वन प्राविधिक सङ्घका अध्यक्ष राकेश कर्ण तथा रेड कार्यान्वयन केन्द्रकी उपसचिव शोभा सुवेदीले आफ्नो धारणा राख्नुभएको थियो ।
जलाधार व्यवस्थापनसम्बन्धी सत्रमा पूर्वसचिव डा. प्रेमनारायण कँडेलको अध्यक्षतामा वन तथा भू–संरक्षण विभागका पूर्वमहानिर्देशक बद्रीराज ढुङ्गानाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । त्यसपछि विभिन्न विज्ञ तथा सरोकारवालाले जलाधार क्षेत्रमा भइरहेका काम, उपलब्धि र चुनौतीबारे छलफल गरेका थिए ।
मानव–वन्यजन्तु द्वन्द्व तथा बाँदर व्यवस्थापन विषयक सत्रमा पूर्वसचिव डा. कृष्णप्रसाद आचार्यको अध्यक्षतामा प्राध्यापक डा. हरिप्रसाद शर्माले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । छलफलमा वन्यजन्तु र मानिसबीचको द्वन्द्व, बाँदर, बँदेल र दुम्सीबाट कृषिमा भइरहेको क्षति तथा बाँदर व्यवस्थापनका चुनौतीबारे गहन बहस भएको थियो ।
दिगो वन व्यवस्थापनसम्बन्धी अन्तिम सत्रमा त्रिभुवन विश्वविद्यालयका डा. राजेश राईको अध्यक्षतामा वन निर्देशनालयका महानिर्देशक ईश्वरीप्रसाद पौडेल र वरिष्ठ डिभिजन वन अधिकृत विजयराज सुवेदीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । छलफलमा वनलाई उद्योगसँग जोड्ने सम्भावना, दिगो व्यवस्थापनका चुनौती तथा समाधानका उपायबारे विचार आदानप्रदान गरिएको थियो ।
नेपाल वन प्राविधिक सङ्घ बागमती प्रदेशका अध्यक्ष उत्तम चापागाईँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका वन तथा वातावरण मन्त्री भरत बहादुर के.सी प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा प्रदेश सचिव डा. केदार बरालसहित देशभरका वन तथा वातावरण क्षेत्रसँग सम्बन्धित निकायका प्रतिनिधिको सहभागिता रहेको थियो ।
नेपाल वन प्राविधिक सङ्घले वन तथा वातावरण क्षेत्रका विषयमा गहन छलफलको आवश्यकता महसुस भएकाले कार्यक्रम आयोजना गरिएको जनाएको छ । कार्यक्रममा वक्ताहरूले जलवायु परिवर्तनका कारण वन, वन्यजन्तु तथा जलस्रोतमा परेको प्रभावबारे चर्चा गर्दै संरक्षण तथा व्यवस्थापनका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताएका थिए ।
गोष्ठीमा सहभागीहरूले वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनका क्षेत्रमा देखिएका समस्या, चुनौती र समाधानका उपायबारे साझा समझदारी विकास गर्न कार्यक्रमले महत्त्वपूर्ण योगदान पुर्याएको बताएका छन् ।










Discussion about this post