भारततर्फ हुने नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन सरकारले कूटनीतिक पहल तीव्र बनाएको छ। परराष्ट्रमन्त्री Shisir Khanal ले समस्या समाधानका लागि भारतीय पक्षसँग निरन्तर संवाद भइरहेको र सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिएको बताउनुभएको छ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष Anjan Shrestha को नेतृत्वमा गएको प्रतिनिधिमण्डलले भारतीय चिया बोर्डको नयाँ व्यवस्थाका कारण नेपाली चिया निर्यातमा अवरोध सिर्जना भएको भन्दै सरकारसँग तत्काल कूटनीतिक पहलको माग गरेको थियो। उद्योगीहरूले यसबाट चिया उद्योगमा गम्भीर असर परेको र समस्या समाधानमा ढिलाइ भए आर्थिक क्षति झन् बढ्ने चेतावनी दिएका छन्।
उद्योगीहरूका अनुसार वार्षिक १२ देखि १४ अर्ब रुपैयाँ बराबरको कारोबार हुने चिया क्षेत्र संकटमा पर्दा समग्र अर्थतन्त्रसँगै हजारौँ श्रमिक, कर्मचारी र किसानको जीविकोपार्जन प्रभावित हुने अवस्था सिर्जना भएको छ। उनीहरूले भारतसँग प्रभावकारी संवाद गरी निर्यात सहज बनाउन सरकारलाई आग्रह गरेका छन्।
परराष्ट्रमन्त्री खनालले भारतीय अधिकारीहरूसँग छलफल अघि बढिसकेको र चाँडै सकारात्मक निकास निस्किने अपेक्षा गरिएको जानकारी दिनुभयो।
भारतले नेपाली चिया निर्यातमा अघोषित अवरोध लगाएपछि पूर्वी नेपालका चिया उद्योगहरू बन्द हुन थालेका छन्। असार १ गतेदेखि इलामका ५६ वटा चिया उद्योग बन्द भइसकेका छन् भने हिजोदेखि झापाका ३० भन्दा बढी चिया उद्योग र करिब दुई दर्जन चिया बगान पनि पूर्ण रूपमा बन्द भएका छन्।
नेपालकै सबैभन्दा ठूलो चिया उत्पादन क्षेत्र मानिने Jhapa मा उद्योग बन्द हुन थालेपछि चिया क्षेत्र थप संकटमा परेको छ। व्यवसायीहरूका अनुसार नेपालमा उत्पादन हुने चियामध्ये ५ अर्ब रुपैयाँभन्दा बढी मूल्यको चिया भारतमा निर्यात हुँदै आएको छ।
निर्यात ठप्प भई उद्योगहरू बन्द हुँदा यस क्षेत्रमा प्रत्यक्ष रूपमा आश्रित करिब ६० हजार श्रमिक, कर्मचारी र किसानको रोजीरोटी गम्भीर संकटमा परेको छ। उद्योगीहरूले समस्या तत्काल समाधान नभए चिया क्षेत्र अझ गहिरो आर्थिक संकटमा फस्ने चेतावनी दिएका छन्।










Discussion about this post