एशियाली बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा घटेको छ। पाकिस्तानले अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने उद्देश्यसहित शान्ति सम्झौता भएको घोषणा गरेपछि विश्व ऊर्जा बजारमा सकारात्मक प्रभाव देखिएको हो।
BBC का अनुसार अन्तर्राष्ट्रिय बजारको मानक मानिने ब्रेन्ट कच्चा तेल को मूल्य झण्डै ४ प्रतिशतले घटेर प्रति ब्यारेल ८३ अमेरिकी डलर ८१ सेन्टमा झरेको छ। त्यस्तै अमेरिकी बजारमा कारोबार हुने कच्चा तेलको मूल्य करिब ४ दशमलव ७ प्रतिशतले घट्दै प्रति ब्यारेल ८० डलर ८९ सेन्टमा पुगेको छ।
विशेषज्ञहरूका अनुसार आगामी केही दिन ऊर्जा बजारमा उतारचढाव कायम रहने सम्भावना छ। इरान नजिकको महत्वपूर्ण समुद्री मार्ग हर्मुज जलमार्ग युद्धका कारण आंशिक रूपमा अवरुद्ध भएको थियो। विश्वको झण्डै २० प्रतिशत कच्चा तेल तथा एलएनजी आपूर्ति यही मार्गबाट हुने गर्छ।
ऊर्जा विश्लेषक एन्ड्रयू लिपो का अनुसार हर्मुज जलमार्ग पूर्ण रूपमा सञ्चालनमा फर्किन अझै केही समय लाग्न सक्छ। युद्धका कारण कच्चा तेलको मूल्य प्रति ब्यारेल करिब ७० डलरबाट बढेर १२० डलरसम्म पुगेको थियो।
मध्यपूर्वमा ऊर्जा आपूर्तिमा सुधार आउने संकेत देखिएसँगै एशियाली अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। यद्यपि क्षेत्रीय स्थायित्व र ऊर्जा आपूर्तिको दीर्घकालीन अवस्था अझै अनिश्चित रहेको विश्लेषकहरूको भनाइ छ।










Discussion about this post