भारतले नेपाली चियाको आयातमा नयाँ मापदण्ड लागू गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया उद्योगहरू गम्भीर समस्यामा परेका छन्। यसैबीच, ५३ उद्योग आबद्ध रहेको सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालले असार १ गतेदेखि उद्योग बन्द गर्ने घोषणा गरेको छ।
एसोसिएसनका अनुसार भारतीय बजारमा निर्यात गरिएको तीन लाख किलोभन्दा बढी नेपाली चिया गुणस्तर परीक्षणका नाममा रोकिएको छ भने उद्योगहरूमा सात लाख किलोभन्दा बढी तयारी चिया बिक्री हुन नसकी थन्किएको छ। भण्डारण क्षमता भरिएपछि उद्योग सञ्चालन गर्न कठिन भएको एसोसिएसनका अध्यक्ष डिल्ली श्रेष्ठले बताउनुभयो।
उहाँका अनुसार किसानबाट खरिद गरिएको हरियो पत्ती प्रशोधन गरेर तयारी चिया उत्पादन गरिए पनि निर्यात र बिक्रीमा समस्या उत्पन्न भएकाले उद्योगहरू आर्थिक दबाबमा परेका छन्। किसानलाई भुक्तानी दिनैपर्ने बाध्यता रहेकाले उद्योग बन्द गर्नुबाहेक अर्को विकल्प नरहेको उद्योगीहरूको भनाइ छ।
भारतले सन् २०२६ मे १ देखि नेपालबाट आयात हुने चियामा ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर’ (एसओपी) लागू गरेको छ। नयाँ व्यवस्थाअनुसार प्रत्येक गाडीमा ल्याइएको चियाको छुट्टाछुट्टै परीक्षण गर्नुपर्ने, परीक्षण प्रतिवेदन आउन २० दिनभन्दा बढी समय लाग्ने तथा नतिजा नआएसम्म बिक्री वितरण गर्न नपाइने व्यवस्था गरिएको छ। परीक्षणमा असफल भए चिया नष्ट गर्नुपर्ने वा फिर्ता लैजानुपर्ने प्रावधान पनि रहेको छ।
एसोसिएसनले नेपाली चियाको निर्यातमा देखिएको समस्या समाधानका लागि सङ्घीय सरकारले प्रभावकारी कूटनीतिक पहल गर्नुपर्ने माग गरेको छ। समस्या समाधान नभए नेपाली चियाको अर्बौँ रुपैयाँ बराबरको बजार गुम्ने र हजारौँ किसान प्रभावित हुने चेतावनी उद्योगीहरूले दिएका छन्।
एसोसिएसनका अनुसार सूर्योदय नगरपालिकामा दुई हजार ९९५ चिया किसान आबद्ध छन्। ३३ हजार ६५५ रोपनी क्षेत्रफलमा फैलिएको चिया खेतीबाट वार्षिक करिब दुई करोड किलो हरियो पत्ती उत्पादन हुने गरेको छ। उद्योग बन्द भए आम्दानीको मुख्य स्रोत नै रोकिने भन्दै किसान राजन भट्टराईले चिन्ता व्यक्त गर्नुभएको छ।










Discussion about this post