शेयर बजार परिसूचक नेप्से लगातार चौथो कारोबार दिन पनि ओरालो लागेको छ। हिजो दोहोरो अङ्कले घटेको बजार आज १.५४ अङ्कले घटेर २,७३३.५९ विन्दुमा बन्द भएको हो।
कारोबारका क्रममा दिउँसो १:२० बजे नेप्से २,७०२ विन्दुसम्म झरेको भए पनि अन्तिम समयमा केही सुधार हुँदै सामान्य गिरावटमा सीमित भएको थियो।
आज होटल तथा पर्यटन, जलविद्युत्, उत्पादन तथा प्रशोधन तथा अन्य समूहबाहेक अधिकांश समूहका सूचक घटेका छन्। फाइनान्स समूहको सूचक सबैभन्दा बढी १ प्रतिशतले घटेको छ।
कारोबारमा १५१ कम्पनीको शेयर मूल्य घट्दा १०५ कम्पनीको मूल्य बढेको छ भने १५ कम्पनीको मूल्य स्थिर रहेको छ।
क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्सको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले घटेको छ। यता सोपान फर्मास्युटिकल्स र कालिञ्चोक हाइड्रोपावरको शेयर मूल्य भने १५ प्रतिशतले वृद्धि भएको छ।
बजार सामान्य घटे पनि कारोबार रकम उल्लेखनीय रूपमा बढेको छ। आज ३५७ कम्पनीका १ करोड २३ लाख कित्ता शेयर ६ अर्ब ४४ करोड रुपैयाँमा कारोबार भएका छन्। यो कारोबार रकम वैशाख १५ यताकै उच्च रहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को तथ्यांकले देखाएको छ। त्यस दिन ६ अर्ब ५३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।










Discussion about this post