महेन्द्रनगर, जेठ १९ — जन्मजात अनुहार तथा मुखसम्बन्धी विकृतिका बिरामीहरूलाई गुणस्तरीय र सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले मन्त्र अस्पताल एण्ड रिसर्च प्रालि, महेन्द्रनगर र जीवा फाउन्डेशन, धनगढीबीच सहकार्य सम्झौता सम्पन्न भएको छ।
सम्झौताअनुसार ओठ फाटेको, तालु फाटेको (Cleft Lip and Palate) लगायत अन्य जन्मजात अनुहारसम्बन्धी विकृतिका बिरामीहरूका लागि निःशुल्क सामुदायिक पहुँच कार्यक्रम सञ्चालन गरिनेछ। कार्यक्रममार्फत विशेषज्ञ चिकित्सकद्वारा स्वास्थ्य परीक्षण, परामर्श, आवश्यक प्रयोगशाला परीक्षण तथा उपचार सेवा उपलब्ध गराइने जनाइएको छ।
त्यसैगरी, स्क्रिनिङ कार्यक्रम, पोषण परामर्श, स्पिच थेरापी, अर्थोडोन्टिक सेवा तथा आवश्यक शल्यक्रिया सम्बन्धी सेवाहरू समेत प्रदान गरिनेछ। बिरामी तथा अभिभावकलाई स्वास्थ्य शिक्षा र परामर्श सेवा उपलब्ध गराउनुका साथै आवश्यक उपचार प्रक्रियामा विशेष सहुलियत प्रदान गरिने व्यवस्था गरिएको छ।
उपचारका लागि आवश्यक सम्पूर्ण खर्च जीवा फाउन्डेशनले व्यहोर्ने भएकाले आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपरेका बिरामीहरूले प्रत्यक्ष लाभ प्राप्त गर्ने अपेक्षा गरिएको छ।
दुवै संस्थाबीचको यस सहकार्यले सुदूरपश्चिमका जन्मजात अनुहार तथा मुखसम्बन्धी विकृतिका बिरामीहरूलाई समयमै उपचार र विशेषज्ञ सेवा प्राप्त गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ।










Discussion about this post