कञ्चनपुर । कञ्चनपुरका भीमदत्त, दोधारा चाँदनी र वेदकोट नगरपालिकालाई लक्षित गरी भारी वर्षा र अत्यधिक गर्मी तथा तातो हावाको लहर (Heat Wave) सम्बन्धी प्रभावमा आधारित मौसम पूर्वानुमान (Impact-based Forecasting – IBF) विषयक क्षमता अभिवृद्धि कार्यशाला सफलतापूर्वक सम्पन्न भएको छ।
जल तथा मौसम विज्ञान विभागसँगको प्राविधिक सहकार्यमा डिसीए नेपाल, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र इन्स्टिच्युट अफ हिमालयन रिस्क रिडक्सन (आइएचआरआर) को संयुक्त आयोजनामा महेन्द्रनगरमा कार्यशाला सम्पन्न गरिएको हो। मौसम पूर्वानुमानलाई केवल तथ्याङ्कमा मात्र सीमित नराखी यसले समुदायमा पार्न सक्ने सम्भावित प्रभाव र त्यसका आधारमा चाल्नुपर्ने पूर्वकार्य (Anticipatory Action) का विषयमा कार्यशाला केन्द्रीत रहेको आयोजकले जनाएको छ।

कार्यशालामा यसअघि वर्षा सम्बन्धी मात्र प्रभावमा आधारित मौसम पूर्वानुमान (IBF) हुँदै आएकोमा अब यस कार्यशाला पश्चात् तातो हावाको लहर (Heat Wave/लु) सम्बन्धी पूर्वानुमान र यसको प्रभावको विवरण समेत जारी गरिने जानकारी गराइएको छ। तराई क्षेत्रमा बढ्दो गर्मी र ‘लु’ को जोखिमलाई मध्यनजर गर्दै यो प्रणालीलाई अभ्यासमा ल्याउन लागिएको जनाइएको छ।
दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यशालामा जल तथा मौसम विज्ञान विभागका मौसमविद् डेभिड ढकालले मौसम पूर्वानुमानको परम्परागत ढङ्गलाई बदलेर अब प्रभावमा आधारित प्रणाली (IBF) मा जानुको विकल्प नरहेको बताउनुभयो। उहाँले पानी कति पर्छ वा तापक्रम कति पुग्छ भन्ने सूचनाले मात्र अब पुग्ने अवस्था नरहेको उल्लेख गर्दै त्यस पानी वा गर्मीले कुन क्षेत्र र समुदायमा कस्तो असर पार्छ भन्ने कुरा पहिले नै थाहा पाएर स्थानीय तहले पूर्वकार्य (Anticipatory Action) गर्नुपर्नेमा जोड दिनुभयो। मौसमविद् ढकालले तराईमा बढ्दो अत्यधिक गर्मी र तातो हावाको लहर (लु) बाट मानव स्वास्थ्य, कृषि र जनजीवनमा पर्ने क्षति रोक्न विभागले प्रभावमा आधारित विशेष बुलेटिन जारी गर्न लागेको जानकारी दिनुभयो।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का सुदृढ परियोजनाका संयोजक राजकुमार सुनरले स्थानीय स्तरमा पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन र समुदायलाई पूर्वकार्यका लागि तयार राख्न यो कार्यशाला महत्त्वपूर्ण सावित भएको बताउनुभयो। उहाँले ‘लु’ र भारी वर्षा जस्ता मौसमी जोखिम आउनुपूर्व नै विपन्न, सीमान्तकृत र जोखिममा रहेका समुदायलाई सुरक्षित राख्न र स्थानीय पालिकाहरूको क्षमता अभिवृद्धि गर्न परियोजनाले प्राविधिक तथा संस्थागत सहयोग जारी राख्ने उल्लेख गर्नुभयो।

इन्स्टिच्युट अफ हिमालयन रिस्क रिडक्सन (आइएचआरआर) का कार्यकारी निर्देशक सुरज गौतमले डिजिटल प्रविधि र वैज्ञानिक तथ्याङ्कलाई स्थानीय ज्ञानसँग जोडेर विपद् जोखिम न्यूनीकरण गर्न सकिने बताउनुभयो। उहाँले तराईका पालिकाहरूमा भारी वर्षाका कारण आउने बाढी र अत्यधिक गर्मीका कारण चल्ने तातो हावा (लु) दुवै उत्तिकै ठूला चुनौती बनेकाले प्रभावमा आधारित पूर्वानुमानले योजना निर्माण र तत्काल परिचालनका लागि मार्गदर्शन गर्ने धारणा राख्नुभयो।
कार्यशालामा सहभागी तीनवटै पालिकाका जनप्रतिनिधिहरूले मौसम विभागको नयाँ प्रणाली अनुसार आफ्नो क्षेत्रको विपद् प्रतिकार्य योजनालाई परिमार्जन गर्ने र जलवायु परिवर्तनका कारण निम्तिएका नयाँ चुनौतीहरूको सामना गर्न नीतिगत रूपमै तयारी अघि बढाउने सामूहिक प्रतिबद्धता गरेका छन्।
कार्यक्रममा भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखक जोशी, वेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशी र दोधारा चाँदनी नगरपालिकाका उपप्रमुख गंगा देवी जोशीको विशिष्ट उपस्थिति रहेको थियो। त्यसैगरी, कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहन चन्द्र जोशी, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का कार्यकारी निर्देशक अशोक विक्रम जैरु, डिसीए नेपालका कार्यक्रम संयोजक दिनेश गुरुङ र इन्स्टिच्युट अफ हिमालयन रिस्क रिडक्सन (आइएचआरआर) का कार्यकारी निर्देशक सुरज गौतम लगायत तीनवटै पालिकाका प्रमुख प्रशासकीय अधिकृत, बेलडाँडी गाउँपालिकाका प्रतिनिधि, विपद् सम्पर्क व्यक्ति, वातावरण अधिकृत, वडा अध्यक्षहरू, उत्थानशील युवा सञ्जालका सदस्यहरू र स्थानीय सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो।









Discussion about this post