चुरे तथा वनजङ्गल संरक्षण अभियान नेपालले चुरे क्षेत्रमा बढ्दो अवैध उत्खनन र वन फँडानी रोक्न माग गर्दै भोलि सरकारलाई ध्यानाकर्षण पत्र बुझाउने भएको छ ।
चुरे क्षेत्रमा भइरहेको अवैध उत्खनन, क्रसर उद्योगको मनपरी र वन विनाशले तराई–मधेशको भूमि मरुभूमिकरण हुने खतरा बढेको भन्दै अभियानले हस्ताक्षर सङ्कलन गरेको हो । जेठ १ गतेदेखि शुरू भएको मेची–महाकाली हस्ताक्षर अभियान आज काठमाण्डाैकाे माइतीघरमा सञ्चालित छ ।
अभियानका अध्यक्ष सुनीलकुमार यादवका अनुसार देशभरका झन्डै २०० ठाउँमा जनजागरण तथा हस्ताक्षर सङ्कलन कार्यक्रम सञ्चालन भएको छ । झापाको मेची पुलदेखि कञ्चनपुरको महाकाली पुलसम्म पुगेर सञ्चालन गरिएको यस अभियानमा चुरे क्षेत्रको अवस्था अत्यन्तै चिन्ताजनक रहेको पाइएको उहाँले बताउनुभयो ।
अध्यक्ष यादवले अभियानका प्रतिनिधिहरूसँग भेट्न अहिलेसम्म सरकारका कुनै प्रतिनिधि नआएको गुनासो पनि गर्नुभयो । अभियान विगत एक दशकदेखि चुरे क्षेत्रमा हुने अवैध नदीजन्य पदार्थ उत्खनन, क्रसर उद्योगको नियन्त्रण, नदीनालाको संरक्षण, प्रदूषण नियन्त्रण तथा जडीबुटीको अवैध दोहन रोक्नका लागि सङ्घर्षरत रहेको बताइएको छ ।









Discussion about this post