कञ्चनपुर । नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पताल अन्तर्गतको महेन्द्रनगर आँखा अस्पतालको आयोजनामा दोधारा चाँदनी नगरपालिका वडा नम्बर ४ स्थित श्री शारदा सरस्वती माध्यमिक विद्यालयमा एक दिवसीय निःशुल्क आँखा शिविर सफलतापूर्वक सम्पन्न भएको छ। स्थानीय स्तरमै गुणस्तरीय आँखा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले उक्त शिविर सञ्चालन गरिएको हो।
शिविरमा दोधारा चाँदनी क्षेत्रका कुल ३६५ जना सर्वसाधारणको आँखाको विस्तृत परीक्षण गरिएको थियो। जाँच गरिएका बिरामीहरूमध्ये ३९ जनामा मोतिविन्दु र २ जनामा आँखाको मासु बढेको समस्या (Pterygium) फेला परेको छ। समस्या देखिएका ती ४१ जना नै बिरामीहरूलाई निःशुल्क शल्यक्रियाका लागि महेन्द्रनगर आँखा अस्पतालमा प्रेषित (रेफर) गरिएको अस्पताल स्रोतले जनाएको छ।
महेन्द्रनगर आँखा अस्पतालका वरिष्ठ नेत्र अधिकृत वीर सिंह धामीका अनुसार शिविरमा आएका बिरामीहरूमध्ये १७६ जनालाई नजिकको दृष्टि कमजोर भएका कारण निःशुल्क चस्मा वितरण गरिएको छ। यसैगरी, आँखामा सामान्य समस्या देखिएका २८७ जना बिरामीहरूलाई आवश्यक औषधि समेत निःशुल्क उपलब्ध गराइएको जानकारी नेत्र अधिकृत धामीले दिनुभयो।
नेपाल नेत्रज्योति संघ कञ्चनपुर शाखाका अध्यक्ष डा. भोजराज पन्तको विशेष उपस्थितिमा सञ्चालित उक्त शिविरमा ९ जनाको दक्ष प्राविधिक टोलीले बिरामीहरूको आँखा परीक्षण गरेको थियो।शिविरलाई सफलतापूर्वक सम्पन्न गर्न नेपाल रेडक्रस सोसाइटी चाँदनी उपशाखा, श्री शारदा सरस्वती मावि विद्यालय तथा स्थानीय महिला स्वास्थ्य स्वयंसेविकाहरूले महत्त्वपूर्ण सहयोग पुर्याएका थिए। शिविरलाई व्यवस्थित बनाउन स्थानीय अभियन्ता अंकित जोशीले समेत विशेष सहयोग गरेको जनाइएको छ।
भौगोलिक रूपमा दुर्गम मानिने दोधारा चाँदनी क्षेत्रका विपन्न तथा वृद्धवृद्धाहरूले आफ्नै आँगनमा निःशुल्क आँखा जाँच, चस्मा, औषधि र शल्यक्रियाको व्यवस्था पाएपछि खुसी व्यक्त गर्दै आयोजक टोलीलाई धन्यवाद दिएका छन्।










Discussion about this post