कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा महिला सशक्तिकरण केन्द्रहरूको जलवायु तथा विपद् उत्थानशील योजना निर्माण कार्यक्रम सुरु भएको छ। कोइकाको आर्थिक सहयोग, अक्सफाम नेपालको प्राविधिक सहयोग तथा निड्स नेपालद्वारा सञ्चालित ‘इम्पावरिङ हर’ (महिला सशक्तिकरण) कार्यक्रम अन्तर्गत यो अभियान अघि बढाइएको हो।

शनिबारदेखि भीमदत्त नगरपालिका वडा नम्बर १० स्थित श्री प्रगति महिला सशक्तिकरण केन्द्रमा ३ दिने योजना निर्माण कार्यक्रम सुरु भएको छ। सोमबारसम्म चल्ने यस कार्यक्रममा वडा सदस्यहरू, विपद् सम्पर्क व्यक्ति, टोल विकास समितिका प्रतिनिधि, महिला स्वयंसेविका, सामुदायिक विपद् व्यवस्थापन समितिका सदस्य र सशक्तिकरण केन्द्रका सदस्यहरूलाई जलवायु तथा विपद् उत्थानशील योजना निर्माणका विषयमा प्रशिक्षण दिइएको छ।

कार्यक्रमका संयोजक नवीन चन्द्र भट्टका अनुसार, यसअघि भीमदत्त–१६ को राम जानकी महिला सशक्तिकरण केन्द्रमा योजना निर्माण सम्पन्न भइसकेको छ। अब भीमदत्त–१८ को सिर्जना सशक्तिकरण केन्द्र र वडा नम्बर १४ को शुक्लाफाँटा महिला सशक्तिकरण केन्द्रमा पनि योजना निर्माणको तयारी रहेको छ।

संयोजक भट्टले यस कार्यक्रमको मुख्य उद्देश्य समुदायमा आधारित जलवायु अनुकूलन तथा विपद् व्यवस्थापन योजनाहरू (CDMPs) तर्जुमा गरी त्यसलाई स्थानीय सरकारको वार्षिक बजेट र योजना प्रक्रियामा समावेश गराउनु रहेको बताउनुभयो। “विस्तृत जोखिम मूल्याङ्कनमार्फत महिला र समुदायको प्रतिकार्य क्षमता सुदृढ गर्ने र ती योजनाहरूलाई वडा तथा नगरपालिकाको बजेटसँग तालमेल मिलाई स्रोतको उच्चतम परिचालन गर्ने हाम्रो लक्ष्य हो,” उहाँले भन्नुभयो।यस संस्थाले प्रत्येक वर्ष चारवटा वडाका चारवटा समुदायलाई समेट्ने लक्ष्य लिएको छ। गत वर्ष भीमदत्तका वडा नं. ९, ११, १३ र १९ का विभिन्न महिला सशक्तिकरण केन्द्रहरूमा यो कार्यक्रम सफलतापूर्वक सञ्चालन भइसकेको थियो। योजना निर्माण गरिसकेपछि स्थलगत अनुगमन र वडा प्रतिनिधिहरूसँग छलफल गरी यसलाई अन्तिम रूप दिइनेछ।

प्रशिक्षक कुमोद लेखकले सहजीकरण गरिरहनुभएको यस कार्यक्रमले जलवायु परिवर्तनका चुनौतीहरू र विपद् जोखिम न्यूनीकरणमा महिलाहरूको नेतृत्वदायी भूमिका स्थापित गर्ने विश्वास गरिएको छ।











Discussion about this post