धन सिंह धामी, कञ्चनपुर । महेन्द्रनगरका युवाहरूको सामूहिक प्रयास र समर्पणले सहरको मुख्य चोकलाई एउटा नमुना स्थलको रूपमा विकास गरिएको छ। भीमदत्त नगरपालिका–४ मा अवस्थित संविधान चोकलाई युवाहरूले आफ्नै अग्रसरतामा सौन्दर्यीकरण गरी जीवन्त र आकर्षक पर्यटकीय गन्तव्य बनाएका हुन्।
समाज विकासका लागि युवाहरूको इच्छाशक्ति नै पर्याप्त हुन्छ भन्ने उदाहरण दिँदै यहाँका युवाहरूले आफ्नै स्रोत र श्रमदानबाट यस क्षेत्रको सरसफाइ र व्यवस्थापन गरेका छन्। नागरिक समाज र युवाहरूको पहलमा ऐतिहासिक राजा महेन्द्रको शालिक पुनः स्थापना भएपछि यो स्थल अहिले आन्तरिक पर्यटकका लागि तस्बिर खिच्ने र समय बिताउने मनमोहक स्थान बनेको छ। विशेषगरी साँझपख रंगीन बत्तीहरूको सजावटले यो क्षेत्र निकै मनमोहक देखिने गरेको छ।
पहिले ‘घुसडी बजार’ भनिने यस क्षेत्रलाई राजा महेन्द्रले नै बस्ती बसालेर ‘महेन्द्रनगर’ नामकरण गरेका थिए। गणतन्त्र स्थापनापछि हटाइएको शालिकलाई इतिहास संरक्षणको उद्देश्यले युवाहरूले पुनः स्थापित गरेका हुन्। यो कार्यलाई स्थानीय बासिन्दाले जनप्रतिनिधिहरूले गर्न नसकेको काम युवाहरूले पूरा गरेको भन्दै उच्च प्रशंसा गरेका छन्।
सामाजिक अभियन्ताहरूले इतिहास जोगाउनु प्रत्येक नागरिकको कर्तव्य भएको बताएका छन्। यस अभियानमा स्थानीय युवाहरूले कुनै व्यक्तिगत लाभविना बत्तीको व्यवस्थापनदेखि नियमित हेरचाहसम्मको जिम्मेवारी सम्हाल्दै आएका छन्। यो कार्यले युवा शक्ति एकजुट भएमा समाजमा कस्तो सकारात्मक प्रभाव पार्न सकिन्छ भन्ने एउटा उत्कृष्ट उदाहरण पेश गरेको छ।
महेन्द्रनगरको यो रूपान्तरणबारे बोल्दै युवा अभियन्ता सुजित श्रेष्ठले इतिहास मेटिन नहुने र युवा शक्ति नै देशको मेरुदण्ड भएकोले समाजका हरेक पक्षमा युवाहरूले पहरेदारी गर्नुपर्ने बताउनुभयो। त्यस्तै तारा होटलका सञ्चालक तथा युवा अभियन्ता बलराम जोशीले स्थानीय सरकारले बजार विस्तारका नाममा सम्पदा मास्ने योजना बनाएकाले इतिहास जोगाउन युवाहरूले नै सक्रियता देखाउनुपरेको उल्लेख गर्नुभयो। उहाँले यस्तो ऐतिहासिक ठाउँलाई बेवारिसे छोड्दा सहर नै कुरूप देखिएकाले सबैको सहकार्यमा पुनः स्थापना सम्भव भएको बताउनुभयो।
सामाजिक अभियन्ता शिशिर थापाले महेन्द्रनगरको इतिहासमा आदिवासी चौधरी समुदायको महत्वपूर्ण योगदान रहेको स्मरण गर्दै शालिक पुनः स्थापनामा शिव मन्दिरका बाबा भुवन गिरी र राम गिरीको सहयोग महत्वपूर्ण रहेको जानकारी दिनुभयो। स्थानीय बासिन्दाहरूले पनि यस कार्यको खुलेर समर्थन गरेका छन्।
भीमदत्त–०४ की शारदा आग्रीले बजार क्षेत्रमा बालबालिकाका लागि खेल्ने ठाउँ नभएको अवस्थामा युवाहरूले यस्तो राम्रो स्थल निर्माण गरिदिएकोमा खुसी व्यक्त गर्नुभयो। त्यस्तै नारायण सिंह बिष्टले युवाहरूले चाहेमा राजनीतिक दलहरूले भन्दा राम्रो परिणाम दिन सक्छन् भन्ने यो एउटा बलियो उदाहरण भएको बताउनुभयो। स्थानीय व्यवसायी सुमित लामेछानेका अनुसार अहिले बत्तीको सजावट र शालिक स्थापनापछि यहाँ पर्यटक र तस्बिर खिच्नेहरूको चहलपहल उल्लेख्य रूपमा बढेको छ।










Discussion about this post