नेपाली राजनीतिमा पछिल्ला वर्षहरूमा देखिएको सबैभन्दा महत्वपूर्ण परिवर्तन केवल सरकार फेरबदल हुनु वा केही नयाँ अनुहार संसद् प्रवेश गर्नुमा सीमित छैन। यसको मूल केन्द्र दलभित्र निर्णय कसरी हुन्छ भन्ने प्रश्नमा पुगेको छ। जनताले अब केवल आकर्षक भाषण, नाराबाजी वा भावनात्मक अपिलबाट सन्तुष्ट हुने अवस्था छैन। उनीहरू प्रक्रिया खोजिरहेका छन्, निर्णयको आधार खोजिरहेका छन् र न्यायको अनुभूति चाहिरहेका छन्। कसरी उम्मेदवार छानिन्छ, कसरी योग्यता हेरेर टिकट दिइन्छ, र दलभित्र सामान्य कार्यकर्ता वा सदस्यको आवाजको मूल्य कति छ भन्ने प्रश्नहरू अहिले नेपाली राजनीतिक बहसको केन्द्रमा छन्। यही पृष्ठभूमिमा राष्ट्रिय स्वतन्त्र पार्टीले आन्तरिक निर्वाचन सम्पन्न गरी त्यसको परिणाम सार्वजनिक गर्नु र उम्मेदवार छनोटलाई स्पष्ट मापदण्डमा आधारित बनाउने प्रयास गर्नुले नेपाली राजनीतिमा महत्वपूर्ण र दूरगामी सन्देश दिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीको उदयलाई केवल नयाँ दलको रूपमा बुझ्नु अधूरो विश्लेषण हुन्छ। यसको वास्तविक महत्व त्यसले अभ्यासमा ल्याएको कार्यशैली र सोचमा छ। रास्वपाले उम्मेदवार छनोटमा योग्यता, निष्पक्षता, दक्षता, समावेशिता र आन्तरिक लोकतन्त्रलाई प्राथमिकता दिन खोज्दा यसले स्वाभाविक रूपमा पुराना दलहरूको कमजोरीलाई उजागर गरिदिएको छ। दशकौँदेखि शासन, आन्दोलन र राजनीति गर्दै आएका ठूला दलहरूले किन यस्ता अभ्यास गर्न सकेनन् ? के उनीहरूसँग क्षमता थिएन, कि इच्छाशक्ति नै थिएन ? यो प्रश्नले पुराना दलहरूको संगठनात्मक संस्कार र राजनीतिक नैतिकतालाई पुनः मूल्याङ्कन गर्न बाध्य बनाएको छ।
रास्वपाले आन्तरिक निर्वाचनमार्फत उम्मेदवार चयन गर्ने अभ्यास सुरु गर्नु, त्यसमा पार्टी सदस्यहरूको सहभागिता सुनिश्चित गर्ने प्रयास गर्नु र अन्ततः परिणाम सार्वजनिक गर्नु नेपाली राजनीतिक इतिहासमा सामान्य घटना होइन। नेपालमा दलभित्रको निर्णय प्रक्रिया प्रायः बन्द कोठाभित्र सीमित रहने गरेको छ। उम्मेदवार छनोट अन्तिम समयमा केही शीर्ष नेताहरूको बैठकबाट हुने, गुटीय समीकरण मिलाइने र स्थानीय तहको रायलाई औपचारिकतामा सीमित गर्ने अभ्यास लामो समयदेखि चल्दै आएको छ। यस्तो परम्पराले कार्यकर्तालाई निर्णयकर्ता होइन, केवल आदेश पालना गर्ने साधन बनाउँदै आएको छ। यही कारणले दलभित्र लोकतन्त्र कागजमा मात्र सीमित हुँदै गएको देखिन्छ।
यस्तो पृष्ठभूमिमा रास्वपाको अभ्यासले निष्पक्ष र पारदर्शी प्रक्रिया नै लोकतन्त्रको आत्मा हो भन्ने कुरा व्यवहारमै देखाएको छ। सबै जना चयन हुँदैनन्, सबैको चाहना पूरा हुँदैन, तर निर्णय निष्पक्ष र पारदर्शी भयो भने त्यसको स्वीकार्यता बढ्छ। आन्तरिक निर्वाचनले पार्टी सदस्यलाई मालिकको अनुभूति गराउँछ, उनीहरूलाई पार्टी केवल नेताको होइन, आफ्नो पनि हो भन्ने विश्वास दिलाउँछ। यसले दीर्घकालमा संगठनलाई बलियो बनाउने मात्र होइन, राजनीतिक संस्कार नै परिवर्तन गर्ने सम्भावना बोकेको हुन्छ। यही कारणले रास्वपाको कदमलाई केवल पार्टीगत घटना नभई प्रणालीगत सुधारको संकेतका रूपमा लिनुपर्छ।
राष्ट्रिय स्वतन्त्र पार्टीको अभ्यासले नेपाली राजनीतिलाई दिएको सबैभन्दा महत्वपूर्ण पाठ भनेको निष्पक्ष र पारदर्शी प्रक्रिया नै सबैभन्दा ठूलो शक्ति हो भन्ने सन्देश हो। उम्मेदवार छनोटका लागि खुला आवेदन आह्वान गर्नु, स्पष्ट र सार्वजनिक मापदण्ड तय गर्नु, सम्भावित नेतृत्वको क्षमता र दृष्टिकोणको मूल्याङ्कन गर्नु, आन्तरिक मतदानको व्यवस्था गर्नु र अन्ततः परिणाम सार्वजनिक गर्नुले निर्णयलाई वैधता दिन्छ। यस्तो प्रक्रियाले व्यक्तिगत इच्छा वा प्रभावभन्दा संस्थागत नियमलाई बलियो बनाउँछ।
यो सन्देश अब विशेषगरी नेपालका पुराना र ठूला दलहरूका लागि अझ गम्भीर बनेको छ। नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी जस्ता दलहरूले लोकतन्त्र स्थापनाका लागि गरेको ऐतिहासिक संघर्षलाई अस्वीकार गर्न सकिँदैन। तर आजको यथार्थ हेर्दा विडम्बना स्पष्ट देखिन्छ। ती दलहरूभित्र नै आन्तरिक लोकतन्त्र सबैभन्दा कमजोर अवस्थामा पुगेर नेतातन्त्र हावी भएकोछ। निर्णय केही सीमित नेताको वरिपरि घुम्ने, आलोचनात्मक आवाजलाई असहज रूपमा लिने र संगठनलाई विचारभन्दा व्यक्तिमा केन्द्रित गर्ने प्रवृत्तिले ती दलहरूलाई संस्थागत भन्दा पनि व्यक्तिनिष्ठ बनाउँदै लगेको छ।
पुराना दलहरूमा उम्मेदवार बन्ने बाटो प्रायः योग्यता र योगदानभन्दा पहुँच र निष्ठामा आधारित देखिन्छ। नेतृत्वसँग नजिक हुन सक्ने, गुटीय राजनीतिमा सक्रिय रहने, निरन्तर चाकरी गर्न सक्ने वा आर्थिक रूपमा सहयोग पुर्याउन सक्ने व्यक्तिहरूले अवसर पाउने प्रवृत्ति बलियो हुँदै गएको छ। यसले दीर्घकालीन रूपमा संगठनलाई कमजोर बनाउँछ, किनकि इमानदार र सक्षम कार्यकर्ताहरू निराश भएर किनारा लाग्न थाल्छन्। जब पार्टीभित्रै न्याय र समानताको अनुभूति हुँदैन, तब त्यो पार्टीले समाजमा लोकतान्त्रिक मूल्य स्थापित गर्छ भन्ने अपेक्षा स्वाभाविक रूपमा कमजोर हुन्छ।
विशेषगरी समानुपातिक उम्मेदवार छनोटको अभ्यासले पुराना दलहरूको वास्तविक चरित्र झनै प्रस्ट पारेको छ। समानुपातिक प्रणालीको मूल उद्देश्य राजनीतिक रूपमा पछि पारिएका समुदायहरूको प्रतिनिधित्व सुनिश्चित गर्नु हो। महिला, दलित, आदिवासी जनजाति, मधेसी, पिछडिएका वर्ग र अल्पसंख्यक समुदायलाई राज्यका निर्णय तहमा सहभागी गराउनु यसको आत्मा हो। तर व्यवहारमा यो प्रणाली नेताहरूका आफन्त, नजिकका सहयोगी वा व्यक्तिगत विश्वासपात्रलाई संसद् पुर्याउने सुरक्षित बाटोका रूपमा प्रयोग भइरहेको आरोप व्यापक छ।
यस प्रकारको अभ्यासले समानुपातिक प्रणालीको मर्म मात्र होइन, समग्र लोकतान्त्रिक नैतिकतालाई नै गम्भीर चोट पुर्याएको छ। जब प्रतिनिधित्वको नाममा पुनः विशेषाधिकार प्राप्त समूहकै पहुँच बढाइन्छ, तब आम नागरिकमा प्रणालीप्रति नै अविश्वास पैदा हुन्छ। यही सन्दर्भमा रास्वपाको प्रक्रिया-केन्द्रित अभ्यासले पुराना दलहरूलाई ऐना देखाएको छ। अब प्रश्न निष्पक्ष र पारदर्शी प्रक्रियाको सम्भावनामा होइन, परिवर्तन गर्न तयार हुने राजनीतिक इच्छाशक्तिमा केन्द्रित भएको छ।
यही कारणले दलभित्र लामो समयदेखि इमानदारीपूर्वक योगदान गरेका कार्यकर्ताहरू क्रमशः निराश हुँदै गएका छन्। उनीहरूका लागि राजनीति सेवा र विचारको क्षेत्रभन्दा पनि पहुँच र पैसाको खेल बनेको अनुभूति बलियो हुँदै गएको छ। जब निरन्तर संघर्ष, संगठन निर्माण र जनतासँगको सम्बन्धभन्दा नेतृत्वसँगको नजिकोपन निर्णायक बन्छ, तब कार्यकर्ताको आत्मसम्मानमा चोट पुग्छ। यस्तो अनुभूति केवल व्यक्तिगत निराशामा सीमित रहँदैन, यसले संगठनभित्र गहिरो असन्तोष जन्माउँछ र गुटबन्दी तथा विभाजनलाई मलजल गर्छ।
यसको प्रत्यक्ष असर अन्ततः जनतामा देखिन्छ। दलभित्रको अन्याय, विभेद र अपारदर्शी निर्णय प्रक्रियाले गर्दा आम नागरिकमा पनि ती दलहरूप्रति वितृष्णा बढ्दै जान्छ। “सबै दल उस्तै हुन्” भन्ने धारणा अचानक पैदा भएको होइन। यो दशकौँदेखि दोहोरिँदै आएको व्यवहार, अवसरवाद र जिम्मेवारीहीनताको परिणाम हो। जब जनताले एउटै अनुहार, एउटै परिवार र एउटै सर्कललाई सधैँ अवसर पाउँदै देख्छन्, तब लोकतन्त्रप्रति होइन, दलप्रति विश्वास हराउँदै जान्छ।
यही पृष्ठभूमिमा राष्ट्रिय स्वतन्त्र पार्टीले थालेको आन्तरिक सुधारको अभ्यासले पुराना दलहरूलाई आत्मसमीक्षा गर्न बाध्य बनाएको छ। यसले स्पष्ट देखाइदिएको छ कि आन्तरिक निर्वाचन सम्भव छैन भन्ने तर्क निराधार रहेछ। खुला प्रतिस्पर्धा पार्टीभित्र अव्यवस्था ल्याउँछ भन्ने डर पनि वास्तविक होइन। स्पष्ट नियम, मापदण्ड र इच्छाशक्ति भए योग्यता र क्षमता आधारमा उम्मेदवार छनोट गर्न सकिन्छ भन्ने कुरा रास्वपाले व्यवहारमै प्रमाणित गरेको छ।
रास्वपाको अभ्यासले एउटा महत्वपूर्ण भ्रम तोडेको छ। समस्या प्रणालीको अभाव होइन, परिवर्तन गर्ने इच्छाको अभाव रहेछ भन्ने कुरा यसले उजागर गरेको छ। वर्षौँदेखि “हाम्रो सन्दर्भमा मिल्दैन” भनेर टारिँदै आएका विषयहरू व्यवहारमा सम्भव रहेछन्। यसले पुराना दलहरूलाई अब बहानामा लुक्न नदिने अवस्थामा पुर्याएको छ, किनकि जनतासामु एउटा वैकल्पिक अभ्यास स्पष्ट रूपमा देखिइसकेको छ।
यसबाट पुराना दलहरूले सिक्नुपर्ने मुख्य पाठ भनेको सुधार बाहिरबाट होइन, भित्रबाट सुरु गर्नुपर्छ भन्ने हो। केवल चुनाव जित्न घोषणापत्र परिमार्जन गर्नु वा नाराहरू बदल्नु पर्याप्त छैन। जनतासँग विश्वास पुनःस्थापित गर्न दलभित्रको निर्णय प्रक्रिया नै रूपान्तरण गर्नुपर्छ। उम्मेदवार छनोटलाई नेताको विशेषाधिकार होइन, पार्टी सदस्यहरूको साझा अधिकार बनाउनुपर्छ। आन्तरिक निर्वाचनलाई औपचारिकता मात्र नभई वास्तविक निर्णय गर्ने माध्यम बनाउँदा मात्र दलहरू फेरि जनविश्वासको आधारमा उभिन सक्छन्।
स्वाभाविक रूपमा हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले अपनाएको यो अभ्यास पूर्ण र त्रुटिरहित छ भनेर दाबी गर्न मिल्दैन। नयाँ प्रणाली भएकाले सिकाइको चरण, आलोचना र सुधारको प्रक्रिया सँगसँगै अघि बढ्नु स्वाभाविक हो। तर यहाँ महत्वपूर्ण पक्ष के हो भने गल्तीलाई लुकाउने होइन, स्वीकार गर्ने र प्रक्रिया अझ बलियो बनाउने चाहना स्पष्ट देखिन्छ। यही सुधारप्रतिको खुलापन नै स्वस्थ लोकतन्त्रको आधार हो।
रास्वपाको अभ्यासले देखाएको अर्को महत्वपूर्ण पक्ष भनेको आलोचनालाई दुश्मनीको रूपमा नहेर्ने संस्कार हो। आलोचनाबाट डराएर प्रणाली छोड्नुको सट्टा त्यसलाई सुधारको आधार बनाउने संकेत देखिनु सकारात्मक कुरा हो। नयाँ राजनीतिक शक्तिले आफैँलाई पूर्ण ठान्नुको सट्टा सिक्ने र परिमार्जन हुने मानसिकता राख्नु दीर्घकालीन राजनीतिक स्थायित्वका लागि आवश्यक हुन्छ। यही दृष्टिकोणले रास्वपाको आन्तरिक अभ्यासलाई केवल प्रयोग मात्र नभई सम्भावनायुक्त सुधारको यात्रा बनाएको छ।
अब स्वाभाविक रूपमा प्रश्न अन्य दलतर्फ फर्किन्छ। यदि पुराना दलहरूले अझै पनि उम्मेदवार छनोटलाई पहुँच, चाकरी, गुटीय समीकरण र पैसाको खेलमै सीमित राखिरहे भने जनताको वितृष्णा झन् गहिरिँदै जानेछ। राजनीतिक निराशा बढ्दै जाँदा सहभागिता घट्छ र लोकतन्त्र कमजोर बन्छ। तर यही क्षणलाई अवसरका रूपमा लिएर आत्मसमीक्षा गर्ने हो भने परिस्थिति बदलिन सक्छ। आन्तरिक निर्वाचन, खुला प्रतिस्पर्धा, स्पष्ट मापदण्ड र परिणाम सार्वजनिक गर्ने अभ्यास कुनै एक दलको विशेषाधिकार होइन, सबैका लागि सम्भव विकल्प हो।
रास्वपाले देखाएको बाटो अरू दलका लागि पनि खुला छ। यसलाई नक्कलको विषय होइन, सिकाइको आधार बनाउनु आवश्यक छ। योग्य, इमान्दार, निष्ठावान, देश र जनताको हितको लागि समर्पित हुन चाहने सम्पूर्ण नयाँ र युवा वैकल्पिक शक्तिहरूको एकतालाई देखेर डाह रिस र गाली गर्नुको सट्टा पुराना दलहरूले पनि आफ्नो इतिहास, संरचना र सन्दर्भ अनुसार निष्पक्षता, पारदर्शीता, योग्यता र दक्षताको सदुपयोग गर्दै आन्तरिक लोकतन्त्र सुधारका मोडेल विकास गर्न सकिन्छ। मुख्य कुरा इच्छाशक्ति हो। जब नेतृत्वले आफ्नो अधिकार केही हदसम्म सदस्यहरूलाई सुम्पिन तयार हुन्छ, तब मात्र दल संस्थागत बन्छ। यही संस्थागत बलले मात्र दीर्घकालीन रूपमा जनविश्वास पुनःस्थापित गर्न सक्छ।
निष्कर्षमा भन्नुपर्दा राष्ट्रिय स्वतन्त्र पार्टीको आन्तरिक निर्वाचन सम्पन्न हुनु, परिणाम घोषणा हुनु र निरन्तर सुधारका कार्यक्रम अघि बढ्नु नेपाली राजनीतिमा आशाको संकेत हो। राजनीति सुधार बाहिरबाट मात्र होइन, दलभित्रबाट पनि सम्भव छ। लोकतन्त्रको मजबुती चुनावी जित–हारबाट मात्र होइन, दलभित्रको न्याय, निष्पक्षता र सहभागिताबाट नापिन्छ। रास्वपाले यही मानक स्थापित गर्ने प्रयास गरेको छ। अब यो प्रयास एक्लो प्रयोगमै सीमित रहने कि समग्र दल प्रणाली सुधारको आधार बन्ने भन्ने कुरा अन्य दलहरूको इच्छाशक्ति र जनदबाबमा निर्भर रहनेछ।
लेखक डम्मर सिंह साउद सुदूरपश्चिम विश्वविद्यालय दार्चुला बहुमुखी क्याम्पसका उपप्राध्यापक हुन्।










Discussion about this post