कञ्चनपुर । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको तराई नजिक रहेकाले आज दिनभर र रातभर वर्षा हुने सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ।
आज दिनभरको मौसम
आज दिउँसो देशभरको मौसम बदली रहनेछ। कोशी र मधेश प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। विशेषगरी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने भारी वर्षादेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। यसैगरी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा पनि भारी वर्षा हुनसक्नेछ।
आज रातिको मौसम
आज राति पनि देशभरको मौसम बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मध्यम वर्षा हुनेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने भारी वर्षादेखि धेरै भारी वर्षाको सम्भावना कायमै रहनेछ।
भारी वर्षाको सम्भावना रहेकाले नदी, खोलामा जलस्तर बढ्न सक्ने, पहिरो जान सक्ने तथा हवाई यातायातमा असर पर्न सक्ने भन्दै विभागले सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।










Discussion about this post