काठमाडौं । नेपालले जलवायु परिवर्तनका कारण हिमाली तथा पर्वतीय क्षेत्रमा बढ्दै गएको जोखिमलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष उठाएको छ।
टर्किएको अन्ताल्यामा जारी कोप–३१ सम्मेलनमा नेपालले भोटेकोशी बाढीबाट भएको क्षति, जलवायु न्याय र अनुकूलनका विषयलाई प्राथमिकताका साथ प्रस्तुत गरेको हो।
नेपाल पेभिलियनको समापन कार्यक्रममा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भोटेकोशी बाढी नेपालका लागि मात्र नभई विश्व समुदायका लागि समेत चेतावनी भएको बताउनुभयो।
उहाँले हिमाली क्षेत्रको जलवायु सङ्कट विश्वव्यापी समस्या भएको उल्लेख गर्दै बाढीमा ज्यान गुमाएका नेपाली तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो।
मन्त्री चौधरीले भविष्यमा यस्ता विपद्बाट हुने क्षति न्यूनीकरण गर्नु नै मृतकप्रतिको सच्चा सम्मान हुने बताउनुभयो। हिमाली क्षेत्रमा देखिएको जलवायुजन्य जोखिमले हिमालदेखि तल्लो तटीय क्षेत्रसम्मका समुदाय प्रभावित भइरहेको उहाँको भनाइ थियो।
सम्मेलनका क्रममा नेपालले विभिन्न देशका मन्त्री, संयुक्त राष्ट्रसङ्घीय निकाय तथा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिसँग जलवायु वित्त, पर्वतीय जोखिम र अनुकूलनका विषयमा छलफल गरेको मन्त्रालयले जनाएको छ।
नेपालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्र, हिमनदी र तिनमा निर्भर समुदायले भोगिरहेका समस्या समाधान गर्न संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिअन्तर्गत छुट्टै कार्ययोजना स्थापना गर्नेसमेत प्रस्ताव गरेको छ।










Discussion about this post