काठमाडौं । आज कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी। देशभर भगवान् विष्णुको पूजा आराधना, व्रत तथा तुलसी विवाह गरी यो पर्व मनाइँदैछ।
वैदिक सनातन धर्मावलम्बीले यस दिन तुलसीलाई भगवान् दामोदर अर्थात् विष्णुको प्रतीकका रूपमा विधिपूर्वक विवाह गराउने परम्परा छ।
धार्मिक मान्यताअनुसार असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गर्नुभएका भगवान् विष्णु आजकै दिन ब्युँझनुहुन्छ। त्यसैले यस एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ।
हरिशयनीदेखि हरिबोधिनी एकादशीसम्मको चार महिनाको अवधिलाई चतुर्मास भनिन्छ। यस अवधिमा विष्णुभक्तले तुलसीको व्रत, पूजा तथा विशेष आराधना गर्ने परम्परा छ। भगवान् विष्णु शयनमा रहने धार्मिक विश्वासका कारण यस अवधिमा विवाह, व्रतबन्धलगायत माङ्गलिक कार्य नगर्ने चलन छ।
हरिशयनी एकादशीका दिन घरघरमा रोपिएको तुलसीको मठलाई आज गोबर र रातो माटोले लिपपोत गरी फूलमालाले सजाइन्छ। त्यसपछि भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीसँग दामोदरको विवाह गराउने धार्मिक परम्परा रहेको छ। तुलसी भगवान् विष्णुलाई अत्यन्त प्रिय भएकाले तुलसी विवाहको परम्परा सुरु भएको धर्मशास्त्रविद्हरू बताउँछन्।
धार्मिक महत्त्वसँगै तुलसीलाई औषधीय गुण भएको वनस्पतिका रूपमा पनि लिइन्छ। यसको पात, डाँठ र फूल परम्परागत रूपमा रुघाखोकीलगायत समस्यामा प्रयोग हुँदै आएको छ। तुलसीको मठ भएको घरलाई पवित्र मान्ने र यसको पूजा आराधना गर्दा पुण्य प्राप्त हुने धार्मिक विश्वाससमेत छ।
काठमाडौं उपत्यकाका चार नारायणमा विशेष मेला
हरिबोधिनी एकादशीको अवसरमा आज काठमाडौं उपत्यकाका चार नारायण मन्दिरमा विशेष मेला लागेको छ। भक्तपुरको चाँगुनारायण, काठमाडौंको शेषनारायण र इचंगुनारायण तथा ललितपुरको विशङ्खुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।
उपत्यकाका चार दिशामा रहेका यी चार नारायण मन्दिरसँगै काठमाडौंको बूढानीलकण्ठमा पनि विशेष मेला लागेको छ। आजदेखि सुरु भएको बूढानीलकण्ठको मेला कात्तिक शुक्ल पूर्णिमासम्म सञ्चालन हुनेछ।
चारै नारायण मन्दिरमा पुग्न नसक्ने भक्तजनले ललितपुरको दरबार क्षेत्रस्थित चार नारायण मन्दिरमा पुगेर दर्शन गर्ने परम्परा छ। वर्षमा एक दिन हरिबोधिनी एकादशीका दिन मात्रै खुल्ने यस मन्दिरमा दर्शन गर्न भक्तजनको विशेष उपस्थिति रहने गर्दछ।
बूढानीलकण्ठ नारायणस्थान र ललितपुरस्थित चार नारायण मन्दिरको दर्शन तथा पूजा गर्दा चारै नारायणको दर्शन गरेसरह पुण्य प्राप्त हुने जनविश्वास रहेको छ।










Discussion about this post