काठमाडौँ । साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को अंकतालिकामा शीर्षस्थानमा उक्लिएको छ ।
मंगलबार भएको खेलमा लुम्बिनीले पोखरा एभेन्जर्सलाई ८ विकेटले पराजित गर्दै शीर्षस्थानमा कब्जा जमाएको हो । जितसँगै लुम्बिनीले ३ खेलबाट ५ अंक जोडेको छ ।
लुम्बिनीले यसअघि उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हराएको थियो । शनिबार चितवन राइनोजसँगको खेल भने वर्षाका कारण रद्द भएपछि दुवै टोलीले १–१ अंक बाँडेका थिए ।
पोखराले दिएको ९८ रनको सामान्य लक्ष्य लुम्बिनीले ११.४ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो । त्यसअघि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९७ रन बनाएको थियो ।
यस्तै, मंगलबार नै भएको अर्को खेलमा विराटनगर किङ्सले जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेको छ ।
एनपीएलमा आज बुधबार विश्राम दिन रहेकाले कुनै खेल हुने छैन । बिहीबार लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स तथा काठमाडौं गोर्खाज र विराटनगर किङ्सबीच प्रतिस्पर्धा हुनेछ ।
आठ टोली सहभागी एनपीएलको तेस्रो संस्करण आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ ।










Discussion about this post