काठमाडौँ । शक्तिशाली एल निनोका कारण विश्वका विभिन्न क्षेत्रमा अतिवृष्टि, खडेरी र अत्यधिक गर्मीको प्रभाव देखिन थालेपछि खाद्य सङ्कटको जोखिम बढेको छ ।
यसको प्रभावले भारत र नेपालमा भारी वर्षा तथा दक्षिण अमेरिकामा खडेरीको समस्या देखिएको छ । धान, मकै, कफी लगायतका प्रमुख बालीको उत्पादन प्रभावित हुन सक्ने भन्दै विश्व बैंकले आगामी वर्ष खाद्यान्नको मूल्य १८ प्रतिशतसम्म बढ्न सक्ने अनुमान गरेको छ ।
एल निनोको प्रभावले बोलिभियामा खडेरीबाट हजारौँ परिवार प्रभावित भएका छन् भने ठूलो सङ्ख्यामा गाईवस्तु मरेका छन् । पेरुमा वन डढेलोका कारण मानवीय क्षतिसमेत भएको छ ।
संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) का अनुसार वर्षाको अनियमितताले एसियामा धान तथा मेक्सिको, मध्य अमेरिका र दक्षिणी अफ्रिकामा मकै र सिमी उत्पादनमा असर पार्न सक्छ ।
त्यस्तै, पूर्वी अफ्रिकामा ज्वार र बाजरा तथा अन्य क्षेत्रमा गहुँ उत्पादन प्रभावित हुने जोखिम छ । कफी र कोकोको उत्पादन तथा गुणस्तरमा समेत गिरावट आउन सक्ने अनुमान गरिएको छ ।
बाली उत्पादन घटेमा अन्तर्राष्ट्रिय बजारमा खाद्यान्नको मूल्य बढ्नुका साथै आयातमा निर्भर देश र किसानसमेत प्रभावित हुने जोखिम रहेको छ ।










Discussion about this post