काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई पाँच विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गरेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा चितवनले दिएको १३० रनको लक्ष्य सुदूरपश्चिमले १६.४ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो।
सुदूरपश्चिमको जितमा ब्रेन्डन म्याकमुलेनले आक्रामक ब्याटिङ गर्दै २१ बलमा ४३ रन बनाए। उनले ६ चौका र दुई छक्का प्रहार गरे। यस्तै, इशान पाण्डेले २१, अविजित शेरफेन रदरफोर्डले २१, आरिफ शेखले २० र विनोद भण्डारीले ११ रनको योगदान दिए।
चितवनका रञ्जित कुमारले तीन विकेट लिए भने मौसम ढकाल र रिजन ढकालले एक–एक विकेट हात पारे।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनाएको थियो। चितवनका रवि बोपाराले सर्वाधिक ४९ रन बनाए। यस्तै, विवेककुमार यादवले १७, डेभिड मलानले १६ तथा सिकन्दर राजा र अर्जुन साउदले समान १५ रन जोडे।
सुदूरपश्चिमका स्कट कुग्लाइनले दुई विकेट लिए भने कप्तान दीपेन्द्रसिंह ऐरी र अनिल खरेलले एक–एक विकेट लिए।
यस जितसँगै सुदूरपश्चिमले प्रतियोगितामा आफ्नो दोस्रो जित निकालेको छ। यसअघि उसले पोखरा एभेन्जर्सलाई पराजित गरेको थियो।
एनपीएलमा आज विराटनगर किंग्स र जनकपुर बोल्ट्स तथा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ। आठ टोली सहभागी प्रतियोगिता मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ।










Discussion about this post