काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा देशका विभिन्न स्थानमा मौसम बदली भएको छ। केही हिमाली जिल्लामा हल्का वर्षा तथा हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार देशभर आंशिक बदली रहेको छ। दार्चुला, बझाङ र हुम्लाका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको छ।
आज देशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको छ। त्यस्तै, लुम्बिनी प्रदेशको तराई क्षेत्रमा पनि एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
आज राति हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। तराईका क्षेत्र, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु र कुहिरो लाग्न सक्ने सम्भावना छ।
पश्चिमी वायुको प्रभावका कारण मौसममा सामान्य बदली भइरहेकाले हिमाली तथा पहाडी क्षेत्रमा यात्रा गर्नेहरूलाई मौसमको पछिल्लो अवस्था बुझेर मात्रै यात्रा गर्न सुझाव दिइएको छ।










Discussion about this post