काठमाडौं । दशैँको अवसरमा सार्वजनिक यातायातको अभाव हुन नदिन सशस्त्र प्रहरी बल नेपालले काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गरेको छ।
सशस्त्र प्रहरी बलले सर्वसाधारणको आवतजावत सहज बनाउन दुईवटा बस सञ्चालनमा ल्याएको हो। दशैँका बेला सार्वजनिक सवारीसाधन कम चल्ने भएकाले यात्रुलाई सुविधा पुर्याउने उद्देश्यले निःशुल्क बस सेवा सञ्चालन गरिएको सशस्त्र प्रहरी नायब महानिरीक्षक तथा प्रवक्ता नेत्रबहादुर कार्कीले जानकारी दिनुभयो।
यो सेवा आजदेखि लगातार तीन दिन, दशैँको टीकाका दिनसम्म बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुनेछ।
सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोकबाट छुट्ने एउटा बसले बालाजु, नयाँ बसपार्क, कोटेश्वर, सातदोबाटो र बल्खुलगायतका क्षेत्र समेट्नेछ।
त्यस्तै, अर्को बसले सीतापाइला, कलङ्की, बल्खु, कोटेश्वर र नयाँ बसपार्क हुँदै यात्रुलाई निःशुल्क सेवा प्रदान गर्नेछ।
दशैँका बेला सार्वजनिक यातायातमा हुने असहजता कम गर्न सञ्चालन गरिएको यो सेवाबाट उपत्यकाका यात्रुलाई आवतजावतमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।










Discussion about this post