कञ्चनपुर । कञ्चनपुरको गड्डाचौकीस्थित नेपाल–भारत सीमा नाकामा सशस्त्र प्रहरीको तालिमप्राप्त कुकुरले मुखभित्र लुकाएर ल्याइएको ब्राउनसुगर पत्ता लगाएको छ। आइतबार बिहान भारतबाट नेपाल प्रवेश गर्ने क्रममा रहेका कैलालीका एक युवकको मुखबाट ०.१६ ग्राम खैरो हेरोइन (ब्राउनसुगर) बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीका अनुसार आइतबार सीमा नाकामा चेकजाँच गर्ने क्रममा तालिमप्राप्त ल्याब्राडोर जातको ‘अल्फा’ नामक पोथी कुकुरले शंकास्पद संकेत गरेको थियो। त्यसपछि थप जाँच गर्दा युवकको मुखभित्र लुकाइएको लागुऔषध फेला परेको हो।

सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण हेडक्वार्टर शैलेश्वरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेमप्रकाश सिग्देलका अनुसार लागुऔषधसहित कैलालीको घोडाघोडी नगरपालिका -६, अस्नेराका २४ वर्षीय विक्रम मिजारलाई नियन्त्रणमा लिइएको छ।
बरामद लागुऔषध र मिजारलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाइएको सशस्त्र प्रहरीले जनाएको छ।
दसैँ–तिहारलाई लक्षित गर्दै सशस्त्र प्रहरीले शनिबारदेखि गड्डाचौकी नाकामा दुईवटा तालिमप्राप्त कुकुरसहितको स्क्वाड परिचालन गरी चेकजाँच तीव्र पारेको छ। सीमा नाकाबाट आवतजावत गर्ने यात्रु तथा उनीहरूले बोकेका सामानको जाँचमा कुकुरको समेत प्रयोग भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।










Discussion about this post