काठमाडौं । बडादसैँ तथा नवरात्रको आठौँ दिन आज देशभर श्रद्धा र भक्तिभावका साथ महाअष्टमी पर्व मनाइँदैछ। यस अवसरमा दसैँघर, पूजाकोठा तथा विभिन्न शक्तिपीठहरूमा नवदुर्गामध्ये आठौँ देवी महागौरीको विधिपूर्वक पूजा आराधना गरिँदैछ।
वैदिक सनातन परम्पराअनुसार प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीका दिन महागौरीको विशेष पूजा गर्ने चलन छ। धार्मिक मान्यताअनुसार महागौरीलाई शान्त, सौम्य र पवित्र स्वरूपकी देवीका रूपमा पूजा गरिन्छ। सेतो वस्त्र धारण गरेकी र सेतो वृषभमा विराजमान हुने महागौरीको आराधना गर्नाले सुख, शान्ति, समृद्धि र मनोकामना पूरा हुने विश्वास छ।
घटस्थापनाका दिन जमरा राखेर सुरु भएको नवरात्रमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी र सातौँ दिन कालरात्रिको पूजा गरिएको थियो। आज आठौँ दिन महागौरीको पूजा गरिँदैछ भने भोलि नवौँ दिन सिद्धिदात्रीको आराधना गरिनेछ।
नवरात्रभर दसैँघर तथा शक्तिपीठहरूमा दुर्गा सप्तशती (चण्डी) र श्रीमद्देवीभागवत पाठ गर्ने धार्मिक परम्परा छ। देवीको आराधनाबाट शक्ति, ऐश्वर्य, विद्या र सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ।
महाअष्टमीका अवसरमा देशभरका देवी मन्दिर तथा शक्तिपीठहरूमा बिहानैदेखि पूजाआजा र दर्शन गर्ने भक्तजनको चहलपहल बढेको छ। दसैँको सार्वजनिक बिदा सुरु भएसँगै काठमाडौं उपत्यकासहित विभिन्न स्थानका शक्तिपीठहरूमा दर्शनार्थीको भीड लागेको छ।
नवरात्रको नौ दिनसम्म विधिपूर्वक पूजा गरिसकेपछि विजयादशमीका दिन मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्दै दसैँ मनाउने परम्परा छ। विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म नेपालीहरूले हर्षोल्लासका साथ दसैँ पर्व मनाउने गर्छन्।










Discussion about this post