महोत्तरी । नेपाल संघीय समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष तथा पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारीले गणतन्त्र, संघीयता, समावेशिता र धर्मनिरपेक्षतामाथि प्रहार गर्ने प्रयास स्वीकार्य नहुने बताएका छन्। उनले सुशासन र समृद्धिको नाममा जनताको अधिकार कटौती गर्न खोजिए सशक्त प्रतिवाद गरिने चेतावनी दिएका छन्।
महोत्तरीको जलेश्वरस्थित उद्योग वाणिज्य संघको हलमा आयोजित पार्टीको जिल्ला कार्यकर्ता भेला तथा जिल्ला कमिटी गठन कार्यक्रमलाई सम्बोधन गर्दै अन्सारीले लोकतान्त्रिक उपलब्धिको रक्षा गर्दै गणतन्त्रलाई थप जनमुखी बनाउनुपर्नेमा जोड दिए।

भदौ २३ गतेको जेनजी आन्दोलनको स्मरण गर्दै उनले जनताको अधिकार र संविधानमाथि प्रहार भए अझ ठूलो जनआन्दोलन हुन सक्ने बताए। भ्रष्टाचार नियन्त्रण, सार्वजनिक सेवा सुधार र आर्थिक विकास आवश्यक भए पनि त्यसका नाममा नागरिक स्वतन्त्रता र लोकतान्त्रिक अधिकार कमजोर बनाउन नहुने उनको भनाइ थियो।
‘गणतन्त्रको विकल्प उन्नत गणतन्त्र’
अन्सारीले मुलुकलाई पुरानो राजनीतिक व्यवस्थातर्फ फर्काउने प्रयासको विरोध गर्दै गणतन्त्रलाई अझ प्रभावकारी र जनमुखी बनाउनुपर्ने बताए।
‘नेपाल अगाडि बढिसकेको छ। अब नेपाल फेरि पछाडि फर्किँदैन। गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन, गणतन्त्रको विकल्प उन्नत गणतन्त्र हो,’ उनले भने।
उनले गणतन्त्रलाई समानता, सामाजिक न्याय, जनताको अधिकार र राज्यका निकायमा समावेशी सहभागिता सुनिश्चित गर्ने व्यवस्थाका रूपमा विकास गर्नुपर्ने धारणा राखे।

मधेशी, दलित, आदिवासी जनजाति, मुस्लिम, थारू, महिला, श्रमिक, किसान तथा आर्थिक र सामाजिक रूपमा पछाडि पारिएका समुदायको अधिकार सुनिश्चित गर्न बलियो राजनीतिक संगठन आवश्यक रहेको पनि उनले बताए। पार्टीको संगठन विस्तारलाई जनताका समस्या समाधान र सामाजिक न्यायको अभियानसँग जोड्नुपर्ने उनको भनाइ थियो।
संघीयता कार्यान्वयनमा जोड
अन्सारीले संघीयताको मर्मअनुसार प्रदेश तथा स्थानीय तहलाई अधिकारसम्पन्न बनाउनुपर्ने बताए। प्रहरी समायोजनलगायत संघीयता कार्यान्वयनसँग सम्बन्धित विषय टुंग्याउन र राज्यका निकायमा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न उनले माग गरे।
उनका अनुसार सरकारको कामको मूल्यांकन भाषण र नाराबाट नभई जनताको जीवनमा आएको परिवर्तनका आधारमा हुनुपर्छ। बेरोजगारी, महँगी, युवाको विदेश पलायन, किसानका समस्या, आर्थिक असमानता र सार्वजनिक सेवामा देखिएका कठिनाइ सम्बोधन गर्नु सरकारको प्रमुख दायित्व हो।
अन्सारीले सामाजिक न्याय, समान अधिकार, संघीयता र समावेशिताका पक्षधर राजनीतिक शक्तिबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै अग्रगामी मोर्चालाई किसान, श्रमिक, युवा, महिला तथा उत्पीडित समुदायका मुद्दासँग जोड्नुपर्ने बताए।

जलेश्वरमा आयोजित भेलाले महोत्तरीमा पार्टीको संगठन विस्तार तथा जिल्ला तहको संरचना सुदृढ गर्ने लक्ष्य राखेको छ। कार्यक्रममा पालिका, वडा र टोलसम्म संगठन विस्तार, राजनीतिक प्रशिक्षण तथा स्थानीय समस्याको समाधानमा सक्रिय भूमिका निर्वाह गर्ने विषयमा जोड दिइएको थियो।
अन्सारीले व्यक्तिगत स्वार्थभन्दा सामूहिक हितलाई प्राथमिकता दिँदै जनताको विश्वास जित्ने गरी काम गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे।










Discussion about this post