काठमाडौं — नेकपा एमाले आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना हुने राष्ट्रिय भेलाको तयारीमा जुटेको छ। भेलाको तयारीका लागि पार्टीले पहिलो बैठक बसेर सहभागिता, व्यवस्थापन र कार्यक्रम सञ्चालनबारे छलफल गरेको छ।
पार्टीका उपमहासचिव लेखराज भट्टका अनुसार पार्टीका नीति, पारित दस्तावेज तथा वर्तमान राजनीतिक परिस्थितिलाई केन्द्रमा राखेर राष्ट्रिय भेला आयोजना गर्न लागिएको हो।
पार्टी सचिव तथा संगठन विभाग प्रमुख भानुभक्त ढकालका अनुसार भेला अभिमुखीकरणमूलक हुनेछ। मंसिर २ गते बिहान ११ बजे सुरु हुने भेला भोलिपल्ट साँझसम्म सञ्चालन हुनेछ।
भेलामा केन्द्रीय कमिटी, प्रदेश तथा जिल्ला कमिटी, स्थानीय तह, जनसंगठन र विभिन्न तहका जनप्रतिनिधिसहित कुल ३ हजार १६४ जना सहभागी हुने जनाइएको छ।
भेलामा ३४६ जना केन्द्रीय सदस्य, केन्द्रीय निकायबाट ८१ जना, प्रदेश तथा प्रवासबाट ५५ जना र जिल्ला तहबाट ४४० जना सहभागी हुनेछन्। त्यस्तै, पालिका कमिटीका अध्यक्ष तथा पदाधिकारीमध्येबाट एक जनाका दरले १ हजार ५०६ जनाको सहभागिता रहनेछ।

यसैगरी संघीय संसद् तथा राष्ट्रिय सभाबाट ३५ जना, प्रदेशसभा सदस्य १५५ जना, स्थानीय तहका मेयर तथा गाउँपालिका अध्यक्ष १९६ जना, उपमेयर तथा गाउँपालिका उपाध्यक्ष ३४२ जना र जनसंगठनबाट ९६ जना सहभागी हुने ढकालले जानकारी दिएका छन्।










Discussion about this post