बाजुरा । बडादसैँ नजिकिएसँगै बाजुराका बजार तथा गाउँघरमा चाडपर्वको चहलपहल बढेको छ। बाहिर गएका स्थानीय घर फर्किने र दसैँका लागि आवश्यक सामग्री खरिद गर्नेको चाप बढिरहेका बेला जिल्लाका किसान भने पाकेको धान भित्र्याउन व्यस्त छन्।
सदरमुकाम मार्तडीसहित कोल्टी, बाम्का, पिलुचौर, बेतालमाण्डौ र धुलाचौरलगायत बजारमा व्यापारिक गतिविधि बढेको छ। खाद्यान्न, लत्ताकपडा तथा चाडपर्वका सामग्री खरिद गर्ने ग्राहक बढेसँगै व्यापारमा पनि चहलपहल थपिएको बाम्का बजारका व्यापारी मनिराम पाध्यायले बताए।

चाडपर्वभन्दा धान भित्र्याउने चिन्ता
दसैँको रौनक बढ्दै गर्दा गाउँका किसानलाई भने पाकेको धानबाली समयमै भित्र्याउने चटारो छ। केही दिनअघिसम्म वर्षाका कारण धान काट्न समस्या भोगेका किसान मौसममा सुधार आएपछि बिहानैदेखि खेतबारीमा खटिन थालेका छन्।
बडीमालिका नगरपालिका–८ की किसान सरिता थापाका अनुसार अहिले किसान धान काट्ने, सुकाउने र सुरक्षित रूपमा घरमा भण्डारण गर्ने काममा व्यस्त छन्।
फेरि वर्षा हुने डरले किसानलाई धान भित्र्याउन हतार भएको कृषक लालबहादुर ऐडीले बताए। “अघिल्लो हप्ता वर्षा नभएको भए हालसम्म धान भित्र्याएर सकिन्थ्यो,” उनले भने, “करिब एक सातासम्म मौसम खराब हुँदा काममा ढिलाइ भयो। अहिले फेरि वर्षा हुने डरले बिहानदेखि बेलुकासम्म खेतमै व्यस्त छौँ।”
खप्तड छेडेदह गाउँपालिका–७ का स्थानीय गणेश बुढाका अनुसार धान काट्ने समयमा वर्षा हुनु र दसैँ पनि सँगै पर्नुले किसानको व्यस्तता बढाएको छ। धान भित्र्याउने कामसँगै कोदो पनि पाक्न थालेकाले यस वर्ष चाडपर्वमा अघिल्ला वर्षको तुलनामा कम फुर्सद हुने उनको भनाइ छ।
धान उत्पादन बढ्ने अनुमान
कृषि ज्ञान केन्द्र बाजुराका अनुसार यस वर्ष जिल्लामा धान उत्पादन अघिल्ला वर्षको तुलनामा बढ्ने अनुमान गरिएको छ। सिँचाइ सुविधाको क्षेत्र विस्तार र धान रोप्ने समयमा पर्याप्त पानी परेकाले उत्पादनमा करिब शून्य दशमलव पाँच प्रतिशत वृद्धि हुने अनुमान गरिएको केन्द्रका प्रमुख हरिशबहादुर विष्टले बताए।
उनका अनुसार जिल्लामा ४ हजार ८४१ हेक्टरमा रोपाइँ भएको छ भने २ हजार ७४ हेक्टर पाखो जमिनमा धानखेती गरिएको छ। आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा १३ हजार ४५५ मेट्रिक टन धान उत्पादन भएको थियो।
दसैँको चहलपहल बढे पनि मौसमको अनिश्चितताका कारण बाजुराका किसानलाई भने चाडपर्व मनाउनुअघि पाकेको बाली सुरक्षित रूपमा घर भित्र्याउने चिन्ता छ।










Discussion about this post