काठमाडौं । टाइम्स हायर एजुकेसनको विश्व विश्वविद्यालय वरीयतामा त्रिभुवन विश्वविद्यालयको स्थान खस्किएको छ। सन् २०२७ को पछिल्लो वरीयतामा त्रिवि विश्वका विश्वविद्यालयमध्ये १८०१ देखि २००० को समूहमा परेको छ।
सन् २०१९ मा ८०० देखि १००० को समूहमा रहेको त्रिवि पछिल्ला वर्षमा निरन्तर खस्किँदै गएको हो। शैक्षिक गुणस्तर, अनुसन्धान, अन्तर्राष्ट्रिय सहकार्य र प्रशासनिक व्यवस्थापनमा सुधार गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।
विश्वविद्यालयका रजिस्ट्रार डा. रवीन्द्र शिवाकोटीले अनुसन्धानसम्बन्धी गतिविधि व्यवस्थित बनाउन अनुसन्धान महाशाखालाई जिम्मेवारी दिइएको बताएका छन्। प्राध्यापक तथा विद्यार्थीका अनुसन्धानमूलक लेख रचना अनलाइन पोर्टलमा व्यवस्थित गर्ने र अनुसन्धानको प्रभावकारिता बढाउने प्रयास भइरहेको उनले बताए।

विश्वविद्यालय अनुदान आयोगका प्रवक्ता डा. केदारप्रसाद आचार्यका अनुसार अनुसन्धान, नवप्रवर्तन, अन्तर्राष्ट्रिय विद्यार्थी तथा प्राध्यापकको सहभागिताजस्ता सूचकले पनि विश्व वरीयतामा प्रभाव पार्छन्।
शिक्षाविद्हरूले राजनीतिक हस्तक्षेप, पुरानो पाठ्यक्रम, परीक्षा तथा नतिजा प्रकाशनमा ढिलाइ, अनुसन्धानमा न्यून लगानी र अन्तर्राष्ट्रिय सहकार्यको कमीलाई त्रिविका प्रमुख चुनौतीका रूपमा औँल्याएका छन्।
त्रिविको शैक्षिक प्रतिष्ठा सुधार गर्न पाठ्यक्रम समयानुकूल बनाउने, अनुसन्धानमा लगानी बढाउने, परीक्षा तथा नतिजा प्रणालीलाई प्रविधिमैत्री बनाउने र शैक्षिक प्रशासनलाई प्रभावकारी बनाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।








Discussion about this post