काठमाडौं । विश्वभर बहुआयामिक गरिबी बढ्दै गएको अवस्थामा नेपालले भने गरिबी न्यूनीकरणमा उल्लेखनीय प्रगति गरेको छ। संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) र अक्सफोर्ड विश्वविद्यालयले सार्वजनिक गरेको ‘ग्लोबल मल्टिडाइमेन्सनल पोभर्टी इन्डेक्स २०२६’ प्रतिवेदनअनुसार नेपाल गरिबीको दर र गरिब नागरिकको सङ्ख्या दुवै घटाउन सफल देशहरूको सूचीमा परेको छ।
प्रतिवेदनअनुसार दक्षिण एसियाका भारत, पाकिस्तान र अफगानिस्तानजस्ता देशमा जनसङ्ख्या वृद्धिका कारण गरिबी न्यूनीकरण चुनौतीपूर्ण बनेको छ। तर नेपालले स्वास्थ्य, शिक्षा र जीवनस्तरका सूचकमा सुधार गर्दै बहुआयामिक गरिबी घटाउन उल्लेखनीय सफलता हासिल गरेको प्रतिवेदनमा उल्लेख छ।
पछिल्लो १५ वर्षमा नेपालसहित ३३ देशले बहुआयामिक गरिबीको अनुपात आधा घटाउन सफल भएका छन्। चीन र भियतनामजस्ता एसियाली देशसँगै नेपाललाई पनि गरिबी न्यूनीकरणमा प्रगति गरिरहेका मुलुकका रूपमा प्रस्तुत गरिएको छ।

यद्यपि, विश्वव्यापी रूपमा भने बहुआयामिक गरिबीको अवस्था थप चुनौतीपूर्ण बन्दै गएको छ। प्रतिवेदनअनुसार सन् २०१० यता पहिलोपटक तीव्र बहुआयामिक गरिबीमा बाँचिरहेका मानिसको सङ्ख्या बढेर १ अर्ब २० करोड पुगेको छ। अघिल्लो वर्षको तुलनामा गरिबको सङ्ख्या ५ करोड १५ लाखले बढेको प्रतिवेदनमा उल्लेख छ।
जनसङ्ख्या वृद्धि, जलवायु परिवर्तन र आर्थिक सङ्कटका कारण विश्वव्यापी गरिबी बढिरहेको प्रतिवेदनले औँल्याएको छ। यस्तो अवस्थामा नेपालले हासिल गरेको प्रगतिलाई निरन्तरता दिन स्वास्थ्य, शिक्षा र जीवनस्तर सुधारका कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्ने देखिन्छ।










Discussion about this post