धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८३/०८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख ६६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। चालु आर्थिक वर्ष सुरु भएको झण्डै तीन महिनापछि आइतबार प्रदेशसभा बैठकमा आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले बजेट प्रस्तुत गरेका हुन्।
प्रदेश सरकारले बजेटको स्रोतका रूपमा आन्तरिक राजस्वबाट एक अर्ब ७२ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ। त्यस्तै, नेपाल सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँडमार्फत १० अर्ब २४ करोड ९२ लाख ६५ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

मन्त्री मल्लका अनुसार संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानबापत नौ अर्ब छ करोड ३३ लाख रुपैयाँ, समपूरक अनुदानबाट ३८ करोड ८० लाख रुपैयाँ, सशर्त अनुदानबाट छ अर्ब तीन करोड ५८ लाख रुपैयाँ र विशेष अनुदानबाट ५२ करोड ७६ लाख रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ। त्यसैगरी, रोयल्टी बाँडफाँडबाट सात करोड रुपैयाँ प्राप्त हुने अनुमान छ।
प्रदेश सरकारले गत आर्थिक वर्षको बचतबाट नौ अर्ब ६५ करोड रुपैयाँ उपलब्ध हुने अनुमान बजेटमा गरेको छ। तर, वास्तविक बचत भने चार अर्ब ७४ करोड रुपैयाँ मात्रै रहेको छ। अनुमानित र वास्तविक बचतबीचको ठूलो अन्तरले बजेट कार्यान्वयनका लागि स्रोत व्यवस्थापनमा चुनौती देखिएको छ।
यसअघि प्रदेशसभामा पेस गरिएका विनियोजन विधेयक र आर्थिक विधेयक फिर्ता लिने प्रस्ताव आइतबारको बैठकबाट स्वीकृत भएपछि सरकारले नयाँ बजेट प्रस्तुत गरेको हो।
यसअघि नेपाली कांग्रेस नेतृत्वको सरकारले गत असार १ गते आर्थिक वर्ष २०८३/०८४ का लागि ३७ अर्ब ७० करोड रुपैयाँको बजेट प्रदेशसभामा पेस गरेको थियो। तर, बजेटसम्बन्धी विवाद र सरकार परिवर्तनका कारण उक्त बजेट पारित हुन सकेन।
अघिल्लो सरकारले ल्याएको बजेट पारित हुन नसकेपछि नयाँ बजेट ल्याएको वर्तमान सरकारले पनि करिब उही आकारको बजेट प्रस्तुत गरेको छ।










Discussion about this post