महोत्तरी । सन्तानको सुख, शान्ति, दीर्घायु र समृद्धिको कामना गर्दै मिथिलाञ्चलका महिलाले जितिया पर्व मनाइरहेका छन्। विशेषगरी आमाहरूले ३६ घण्टासम्म निर्जल र निराहार व्रत बसेर भगवान् जितुवाहनको पूजा गर्ने परम्परा छ।
जितिया पर्वको पहिलो दिन व्रतालुले स्नान गरी सूर्यलाई अर्घ्य दिने तथा भगवान् जितुवाहन र दिवंगत आफन्तका नाममा पूजा सामग्री अर्पण गर्ने गर्छन्। दोस्रो दिन बिहानै दही, चिउरा, फलफूललगायत प्रसाद चढाएर कठोर व्रत सुरु गरिन्छ। त्यसपछि नवमीमा पूजा सम्पन्न गरी पारण गरेपछि व्रत तोड्ने चलन छ।

धार्मिक मान्यताअनुसार जितिया पर्व राजा जितुवाहनसँग जोडिएको छ। पौराणिक कथामा राजा जितुवाहनले एक विधवा ब्राह्मणीका मृत छोराहरूलाई आफ्नो तपशक्तिबाट जीवित गराएको उल्लेख छ। यही लोकगाथासँग जोडेर सन्तानको रक्षा र दीर्घायुको कामना गर्दै जितिया व्रत बस्ने परम्परा सुरु भएको विश्वास गरिन्छ।
जितिया पर्वमा व्रतालुले जितुवाहनको कथा सुन्ने, पितृको सम्झनामा तर्पण गर्ने तथा सन्तानको साहस, स्वास्थ्य र कल्याणको कामना गर्ने गर्छन्। मिथिलाका विभिन्न स्थानमा भगवान् जितुवाहनको पूजा, सांस्कृतिक कार्यक्रम तथा सामूहिक धार्मिक गतिविधि पनि आयोजना गरिएको छ।
जितिया पर्वसँग जोडिएको अर्को लोकगाथामा चील र स्यालको कथा उल्लेख छ। कथाअनुसार चीलले जितुवाहनको व्रत निष्ठापूर्वक पालना गरे पनि स्यालले व्रत तोडेकी थिइन्। अर्को जन्ममा उनीहरू दिदीबहिनीका रूपमा जन्मिएपछि चीलको रूपमा व्रत बसेकी महिलाका सन्तानलाई भगवान् जितुवाहनले रक्षा गरेको र व्रत निष्ठापूर्वक पालना गर्नुको धार्मिक महत्त्व स्थापित भएको मान्यता छ।
यसरी मातृप्रेम, त्याग, आस्था र सन्तानको कल्याणसँग जोडिएको जितिया पर्व मिथिला संस्कृतिको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा मनाइँदै आएको छ।










Discussion about this post