काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ। खुलामञ्चमा हुने महाधिवेशनले पार्टीको नयाँ नेतृत्वसँगै नीति, संगठन र पुस्तान्तरणको दिशासमेत तय गर्ने अपेक्षा गरिएको छ।
विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाको नेतृत्वमा हुन लागेको महाधिवेशनमा युवा पुस्ताका नेताहरू केन्द्रीय कार्यसमितिमा पुग्ने दौडमा छन्। कांग्रेसले यसपटक नेता छनोटसँगै नीति र संगठन सुधारलाई प्राथमिकता दिने जनाएको छ।
महाधिवेशनमा आगामी पाँच वर्षका लागि पार्टीको राजनीतिक, आर्थिक, उत्पादन, रोजगारी तथा विदेश नीतिसम्बन्धी दृष्टिकोण समेटिएको कार्यपत्र प्रस्तुत गर्ने तयारी छ। ७ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने महाधिवेशनको बन्दसत्र र निर्वाचनका लागि पनि तयारी पूरा गरिएको कांग्रेसले जनाएको छ।
यसपटकको महाधिवेशनको मुख्य चासो भने निवर्तमान सभापति शेरबहादुर देउवाको अनुपस्थितिलाई लिएर छ। देउवा पक्षले थापा नेतृत्वको महाधिवेशनलाई स्वीकार नगर्दै छुट्टै महाधिवेशनको प्रक्रिया अघि बढाएको छ। देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।
कांग्रेसमा लामो समय निर्णायक भूमिकामा रहेका देउवा मूल महाधिवेशन प्रक्रियाबाट बाहिर रहँदा पार्टीभित्रको विवाद थप जटिल बनेको छ। विशेष महाधिवेशनबाट आएको नेतृत्वको वैधानिकतामाथि देउवा पक्षले प्रश्न उठाउँदै आएको छ।
उता, यसपटक युवा पुस्ताको सहभागिता उल्लेखनीय देखिएको छ। ३५ वर्षमुनिका ४ सय ९५ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुँदैछन्। कांग्रेसको विधानअनुसार ३५ वर्षमुनिका लागि केन्द्रीय कार्यसमितिमा २१ सदस्यको व्यवस्था रहेकाले युवा नेताहरूको दाबी पनि बढेको छ।
कांग्रेसले महिला, युवा, दलित, अल्पसंख्यक तथा अन्य समुदायको प्रतिनिधित्व विस्तार गर्ने गरी संगठनात्मक संरचना अघि बढाएको जनाएको छ।
यसरी एकातिर गगन थापा नेतृत्वको महाधिवेशनबाट नयाँ कांग्रेस निर्माणको दाबी गरिएको छ भने अर्कोतिर देउवा पक्षले समानान्तर महाधिवेशनको तयारी गरिरहेको छ। त्यसैले यसपटकको महाधिवेशन नेतृत्व चयनसँगै कुन पक्षको महाधिवेशन आधिकारिक हुने र कांग्रेसको आगामी संगठनात्मक दिशा कता जाने भन्ने विषयमा समेत निर्णायक बन्ने देखिएको छ।










Discussion about this post