काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी पालिका चुनावलाई लक्षित गर्दै उम्मेदवार छनोटको प्रक्रिया अघि बढाएको छ।
पार्टीको केन्द्रीय समितिको बैठकले महामन्त्री विपिन आचार्यको संयोजकत्वमा केन्द्रीय उम्मेदवार छनोट समिति गठन गरेको हो। समितिमा मिलन लिम्बू, रहबर अन्सारी, तोसिमा कार्की, कविन्द्र बुर्लाकोटी, सुशान्त बैदिक, टासी ल्हाजोम र जनकसिंह धामी सदस्य रहेका छन्।
रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार समितिमा सातै प्रदेशका सभापति पदेन सदस्य रहनेछन्।
बैठकले पार्टीका विभिन्न केन्द्रीय विभागका प्रमुख तथा उपप्रमुखसमेत मनोनयन गरेको छ। प्रवास सम्पर्क विभागमा मनिष झा, आर्थिक व्यवस्थापन विभागमा डा. मनोहर प्रधान, कानुनी मामिला तथा संस्थागत अनुपालन विभागमा मोहनलाल आचार्य, सामाजिक न्याय, लैङ्गिक समानता तथा समावेशिता विभागमा रुविना आचार्य तथा सुशासन तथा राज्य व्यवस्था विभागमा सुदीप ढकाललाई प्रमुखको जिम्मेवारी दिइएको छ।
त्यस्तै, विधायन, संसदीय मामिला तथा न्याय प्रणाली विभागमा सुलभ खरेल, कृषि, भूमि व्यवस्था तथा सहकारी विभागमा ज्ञानेन्द्र महता, श्रम, रोजगारी तथा सामाजिक सुरक्षा विभागमा दीपककुमार साह, आपूर्ति तथा उपभोक्ता अधिकार विभागमा शर्मिला खनाल र विज्ञान, सूचना प्रविधि, नवप्रवर्तन तथा स्टार्टअप विभागमा आनन्दबहादुर चन्दलाई जिम्मेवारी दिइएको छ।
संस्कृति, पर्यटन तथा राष्ट्रिय सम्पदा विभागमा डा. धनञ्जय रेग्मीलाई प्रमुख तथा सम्राट बुढाथोकीलाई सदस्य मनोनयन गरिएको छ। वातावरण, जलवायु तथा प्राकृतिक स्रोत विभागमा धर्म केसी र सामाजिक न्याय तथा समता प्रवर्द्धन विभागमा रिमा विश्वकर्मालाई प्रमुखको जिम्मेवारी दिइएको छ।
यसैगरी, अभियान तथा प्रचारप्रसार विभागको उपप्रमुखमा आनन्द मिश्र तथा अर्थ विभागको उपप्रमुखमा डिल्लिश्वोर कार्की (रोहन)लाई मनोनयन गरिएको छ।
बैठकले आगामी पालिका चुनावलाई केन्द्रित गर्दै संगठनात्मक गतिविधि तीव्र बनाउन तथा पार्टीका सबै केन्द्रीय सदस्य र सांसदलाई अनिवार्य रूपमा परिचालन हुन निर्देशन दिएको छ।










Discussion about this post