काठमाडौँ । २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष ८ सय मिटर दौडमा नेपाली खेलाडी सोमबहादुर कुमालले राष्ट्रिय कीर्तिमान कायम गरेका छन्। जापानको नागोया सिटीस्थित मिजुहो पार्क एथलेटिक स्टेडियममा भएको हिट–१ मा कुमालले १ मिनेट ४८.९५ सेकेन्डमा दौड पूरा गर्दै आफ्नै नाममा रहेको कीर्तिमान सुधार गरेका हुन्।
यसअघि कुमालको नाममा १ मिनेट ४९.५५ सेकेन्डको राष्ट्रिय कीर्तिमान थियो। नयाँ कीर्तिमान बनाए पनि उनी फाइनलमा भने पुग्न सकेनन्। हिटमा पाँचौँ तथा २४ खेलाडीमध्ये समग्रमा आठौँ स्थानमा रहे।
यस्तै, टेनिसको पुरुष डबल्समा नेपालका अभिषेक बास्तोला र प्रदीप खड्काको जोडी दोस्रो चरणमा पुगेको छ। अब नेपाली जोडीले भारतका ए चन्द्रशेखर र बी नारायणस्वामीको जोडीसँग प्रतिस्पर्धा गर्नेछ। विजेता जोडी क्वार्टरफाइनलमा पुग्नेछ।
महिला सिंगल्समा स्वस्तिका बिष्ट जापानकी मोयुका उचिजिमासँग ६–१, ६–१ तथा शिवाली गुरुङ दक्षिण कोरियाकी दायोन ब्याकसँग ६–१, ६–० ले पराजित भइन्। मिक्स्ड डबल्समा शिवाली गुरुङ र प्रदीप खड्काको जोडी पनि जापानी जोडीसँग ६–०, ६–१ ले पराजित भयो।











Discussion about this post