काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ल्याएको सेयर बजार सुदृढीकरणसम्बन्धी २१ बुँदे कार्ययोजनाको सकारात्मक प्रभाव लामो समय टिक्न सकेन। अघिल्लो साता ८७.७१ अंकले बढेको नेप्से यस साता १७.४२ अंकले घटेको छ।
इन्द्रजात्राका कारण शुक्रबार बिदा र सोमबार प्राविधिक समस्याले कारोबार नभएपछि यस साता तीन दिन मात्रै सेयर कारोबार भयो। मंगलबार ७.०६ अंक र बिहीबार ११.७७ अंकले बढेको नेप्से बुधबार भने ३६.२५ अंकले घट्यो।
साताभर १८ अर्ब ८५ करोड ४२ लाख रुपैयाँको कारोबार भयो। औसत दैनिक कारोबार ६ अर्ब २८ करोड रुपैयाँभन्दा बढी रह्यो। अघिल्लो साता औसत दैनिक कारोबार ६ अर्ब १२ करोड रुपैयाँ थियो।
साताको अन्तिम दिन नेप्से २६२९.६१ विन्दुमा बन्द हुँदा कुल बजार पुँजीकरण ४५ खर्ब २३ अर्ब ६१ करोड रुपैयाँमा झरेको छ। अघिल्लो साताको तुलनामा बजार पुँजीकरण करिब २९ अर्ब ९४ करोड रुपैयाँले घटेको हो।
नेप्सेका १३ उपसमूहमध्ये ११ वटा घट्दा म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङ समूह बढेको छ भने म्युचुअल फन्ड समूह स्थिर रह्यो। अघिल्लो साता भने सबै १३ उपसमूह बढेका थिए।
सरकारले बजार सुधारका लागि सेयर ‘बाइब्याक’ सम्बन्धी नीति, नियम र आवश्यक पूर्वाधार तयार गर्ने योजना अघि सारेको जनाएको छ। कम्पनीले आफ्नै सेयर बजारबाट खरिद गर्ने प्रक्रियालाई ‘बाइब्याक’ भनिन्छ।










Discussion about this post