कञ्चनपुर । वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेसवान) ले रिन्युएबल वर्ल्डसँगको साझेदारीमा सञ्चालित गिद्ध संरक्षण परियोजनाअन्तर्गत कञ्चनपुरको बेदकोट नगरपालिका -३, दैजीस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडको दुग्ध डेरी तथा प्रशोधन केन्द्रलाई विद्युतीय तीनपाङ्ग्रे कार्गो लोडर हस्तान्तरण गरेको छ ।
विश्वकर्मा पूजाको अवसरमा आयोजित कार्यक्रममा पेसवानका कोषाध्यक्ष पदम राज पाठक र कार्यसमिति सदस्य हरिहर परियारले सहकारीका प्रतिनिधिलाई कार्गो लोडर हस्तान्तरण गर्नुभएको हो । उक्त विद्युतीय लोडर दूध तथा अन्य सामग्रीको सङ्कलन र ढुवानीमा प्रयोग गरिने जनाइएको छ ।
पेसवानले सन् २०२५ अक्टोबरदेखि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बेदकोट, बेलडाँडी, भीमदत्त र दोधारा चाँदनी नगरपालिकामा ‘भल्चर्स, काउज एन्ड पिपल – स्ट्रेन्थनिङ एन एन्सियन्ट रिलेसनसिप (VCP)’ परियोजना सञ्चालन गर्दै आएको छ । परियोजनामार्फत गिद्ध संरक्षण, दुग्ध सहकारीको क्षमता विकास, कृषकको जीविकोपार्जन प्रवर्द्धन तथा छाडा चौपाया व्यवस्थापन र गौशाला सञ्चालनसम्बन्धी कार्यक्रम सञ्चालन भइरहेका छन् ।
परियोजनाअन्तर्गत वेदकोट र बेलडाँडीमा एक–एक वटा दुग्ध सङ्कलन केन्द्र स्थापना गरिएको छ । यस्तै, वेदकोट -३ दैजीस्थित साना किसान कृषि सहकारीको डेरी र बेलडाँडीस्थित श्री सिद्धबैजनाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, चवन्नीको डेरी तथा प्रशोधन केन्द्रमा एक–एक थान ग्रिड–कनेक्टेड पीभी सोलार प्रणाली जडान गर्ने योजना रहेको पेसवानले जनाएको छ । यसबाट डेरीको ऊर्जा आवश्यकता पूरा गर्न सहयोग पुग्नुका साथै सञ्चालन लागत घटाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
परियोजनाले गिद्ध संरक्षणलाई कृषकको जीविकोपार्जन, दुग्ध क्षेत्रको विकास र छाडा चौपाया व्यवस्थापनसँग जोडेर मानव, चौपाया र गिद्धबीचको पारिस्थितिक सम्बन्धलाई सुदृढ बनाउने लक्ष्य लिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा छाडा चौपायाको व्यवस्थित व्यवस्थापन गर्दै नेपालकै दोस्रो गिद्ध रेस्टुरेन्ट स्थापना गर्ने लक्ष्यसमेत परियोजनाले अघि सारेको छ । यसका लागि स्थानीय तह, दुग्ध सहकारी, कृषक, गौशाला तथा छाडा चौपाया व्यवस्थापनसँग सम्बन्धित सरोकारवालाबीच सहकार्य र समन्वयलाई प्राथमिकता दिइएको छ ।










Discussion about this post